जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार १४:११

काममा फर्किए दाहसंस्कार रोकेर आन्दोलनमा उत्रिएका आर्यघाटका कर्मचारी, यस्तो भयो सहमति


काठमाडौं, कात्तिक ६ । आज विहानदेखि आन्दोलनमा उत्रिएका पशुपति आर्यघाटस्थित घाट सेवा केन्द्रका कर्मचारीको आन्दोलन फिर्ता भएको छ । कामदारहरुको माग पूरा नभएको भन्दै घाट सेवा केन्द्रका कर्मचारीहरु बुधबार विहानदेखि आन्दोलनमा उत्रिएका थिए । कर्मचारीहरु आन्दोलन उत्रिएपछि घाटमा दाहसंस्कारको कार्य प्रभावित भएको थियो ।

कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि पशुपति क्षेत्र विकास कोषले कर्मचारीहरुसँग वार्ता गरेको थियो । वार्तामा कर्मचारीहरुको सेवासुविधा बढाउने सहमति भएको छ । यससँगै आन्दोलन फिर्ता भएको छ । सहमतिसँगै यसअघि एउटा शव जलाएबापत १२ सय रुपैयाँ पाउँदै आएका कर्मचारीले अब १५ सय रुपैयाँ पाउने भएका छन् ।

त्यस्तै औषधि उपचार खर्च ५ हजारबाट बढाएर १५ हजार पुर्याइएको छ । त्यस्तै कर्मचारीले अवकास पाउँदा पाउने डेढ लाख रुपैयाँ बढाएर पाँच लाख पुर्याइएको छ भने दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ । सहमतिसँगै कर्मचारीहरुले गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् ।