जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार १४:५८

निर्माण कम्पनीको लापर्वाहीका कारण शहीद द्वार अलपत्र


राजविराज, कात्तिक ६

रुपनी–राजविराज सडकखण्डअन्तर्गत पर्ने राजविराज नगरपालिका–९ मलेठमा निर्माण भइरहेको शहीद द्वार निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र अवस्थामा छ । गत असार मसान्तमै सम्पन्न गनुपर्ने योजनाअनुसार निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा शहीद द्वार निर्माण कार्य अलपत्र अवस्थामा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।

राजविराज नगरपालिकाबाट कूल ८१ लाख रुपैयाँको लागतमा ठेक्का पाएको माँ गहिल निर्माण सेवाले हालसम्म करीब ७५ प्रतिशत काम सम्पन्न गरेर चार÷पाँच महीनादेखि निर्माण कार्य ठप्प गरेको सहमहासचिव मण्डलले बताउनुभयो । विसं २०७५ जेठ निर्माण कम्पनीले सम्झौता गरी २०७६ असार मसान्तभित्र शहीद द्वार निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद तोकिएको थियो ।

सहमहासचिव मण्डलका अनुसार ‘शहीद गेट’ तथा शहीद स्मारक स्तरोन्नति’ शीर्षकअन्तर्गत ‘शहीद गेट’ निर्माण, आर्क ढलान, टाइलिङ, मलेठ घटनाका ‘शहीद’ इनरदेव यादव, सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्दकुमार साह र वीरेन्द्र महतोको प्रतिमा निर्माण शहीद टायल्स, बिजुलीबत्ती जडानलगायतका काम रहेको छ तर उक्त कार्यमध्ये अधिकांश कार्य हुन अझै बाँकी नै रहेको पाइएको उहाँले बताउनुभयो ।

राजविराजदेखि रुपनीसम्मको रामलक्ष्मण मार्गअन्तर्गत राजविराज नगरपालिका–९ मलेठमा निर्माणाधीन ‘शहीद गेट’ निर्माण कार्य अलपत्रका कारण सर्वसाधारण जनताले अहिले सास्ती भोग्नुपरेको छ। राजविराज–रुपनी सडकखण्डको मलेठमा बीच सडकमै निर्माण भइरहेको शहीद द्वारको छेउमा डाइभर्सनसमेत नबनाउँदा यातायातका साधनलाई आवतजावतमा समस्या भइरहेको बस चालकले बताउनुभयो ।

हल्का वर्षा भएपछि पनि उक्त बाटोमा अत्यधिक हिलाम्मय रहने गरेकाले समेत सवारीसाधन चलाउन जोखिम उठाएर चलाउनुपरेको चालकको भनाइ छ। निर्माण भइरहेको ‘शहीद गेट’ मा बाँसले बाधेर निर्माण गरिरहेको बाँस पनि हालसम्म नहटाएका कारण सवारी दुर्घटना हुनसक्ने खतरासमेत देखिएको मोटरसाइकल चालक मुकेश यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बीच सडकको बाटैमा निर्माण भइरहेको ‘शहीद गेट’ निर्माण हालसम्म नसकेका कारण रात्रिकालीन समयमा चल्ने सवारीसाधनका चालक आज/भोलि जोखिम पूर्ण अवस्थामा चलाउनुपर्ने बाध्यतासमेत रहेको छ ।’ वर्षाअगावै उक्त काम सम्पन्न हुनुपर्नेमा निर्माण कार्यमा ढिलाइ भएकाले पनि आफूहरुलाई जोखिमपूर्ण अवस्थामा सवारी चलाउनुपरेको माइक्रोबस चालक चालक पवन यादवले बताउनुभयो ।

मधेश आन्दोलनका शहीदको नाममा निर्माण भइरहेको शहीद द्वार निर्माण कार्य समयमै सम्पन्न भए शहीदप्रतिको सम्मान हुने गैरसरकारी संस्था महासङ्घका अध्यक्ष शम्भुनन्दन चौधरीले बताउनुभएको छ । आफूहरुले प्राथमिकतामा राखेको भन्दै अबको केही महीनाभित्रै सम्पूर्ण कार्य पूरा गराउन पहल गर्ने राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले प्रतिबद्धता जनाएका छन्।