काठमाडौं, पुस ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गरेको छ ।
पार्टीको एक शीर्ष नेताका अनुसार अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी भएको छ । स्रोतका अनुसार कार्यवाहकको जिम्मेवारी डिपीले पाउने भएपनि अहिलेसम्म पार्टीले निर्णय गरि नसकेको अवस्था छ ।
स्रोतले जनाएअनुसार आज सामाजिक सञ्जालमार्फत सचिवालय बैठक बस्ने र त्यस बैठकले अर्याललाई कार्यवाहक दिन सक्ने छ ।
अर्याललाई कार्यवाहक बनाउन यसअघिनै पार्टी उपसभापति स्वर्णिम वाग्लेले सहमति दिइसक्नुभएको छ । यस्तै संसदीय दलको नेता भने कसलाई बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन ।
दलको नेताले परिआएमा देशको प्रधानमन्त्री बन्ने हैसियत राख्छ । त्यसैले दलको नेताको जिम्मेवारी कसलाई दिने भन्ने रास्वपामा दुबिधा भएको स्रोतले बतायो ।
हाल संसदीय दलको उपनेता बिराजभक्त श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठलाई नै कार्यवाहक दिने वा दलको पूर्ण जिम्मेवारी दिने भन्ने टुंगोमा रास्वपा पुगेको छैन ।
यसअघि नागरिकता विवादमा रविको सांसदको पद जाँदा डिपी अर्याल दलको नेताको जिम्मेवारी सम्हाल्नु भएको थियो । श्रेष्ठलाई दलको नेताको जिम्मेवारी दिइएको थिएन ।
सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै आइतबार कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो । यससँगै रास्वपामा सभापति रवि लामिछानेको अनुपस्थितिमा पार्टी सञ्चालनका लागि कार्यवाहक तोक्ने तयारी भएको हो ।
प्रतिक्रिया दिनुहोस्