जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार १५:५२

उपनिर्वाचनमा तालमेल गर्न सत्तारुढ नेकपा र राष्ट्रिय जनमोर्चा सहमत, यी ठाउँमा हुने भयो चुनावी तालमेल


काठमाडौं, कात्तिक ६ । आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । मंसिर १४ मा हुने उपनिर्वाचनमा नेकपा र अर्को वामपन्थी घटक राष्ट्रिय जनमोर्चाबीच बिगतको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको हो ।
जनमोर्चाका नेताहरुले आज प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावी तालमेल गर्ने प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले बिगतमा बामपन्थी दलबीच भएको तालमेललाई निरन्तरता दिन नेकपा तयार रहेको बताएपछि सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा अध्यक्ष ओलीले विगतको निर्वाचनमा जसले जहाँ सघाएको थियो, सोही सहकार्य यथावत राख्ने प्रस्ताव गर्नुभएको थियो । बालुवाटारमा प्रधानमन्त्री ओली र राष्ष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको टोलीबीच भएको छलफलमा चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको हो ।

उपनिर्वाचन प्रतिनिधसभा अन्तर्गत कास्की क्षेत्र नं २, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख), भक्तपुर १ (ख) र बागलुङ २ (ख) मा हुनेछ । उक्त क्षेत्रहरुमा कास्की २ बाट निर्वाचित नेकपाका सांसद तात्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा फागुन १५ गते निधन भएको थियो भने दाङ ३ (ख) बाट निर्वा्चित प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएपछि खाली भएको हो ।

भक्तपुर १ (ख) बाट निर्वा्चित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो । त्यस्तै, बाग्लुङ २ (ख) बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो । राष्ट्रिय जनमोर्चाले हिजो मात्रै उपनिर्वाचनमा तालमेलबारे आफ्नो धारणा स्पष्ट पारेको अध्यक्ष केसीले बताउनुभयो । त्यस्तै आफूहरुले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको पनि उहाँले जनाउनुभएको छ ।

२०७४ सालको निर्वाचनमा तत्कालिन एमाले माओवादी गठबन्धनले राजमोलाई बागलुङको प्रदेशसभा सदस्यमा सघाएको थियो । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त स्थानमा नेकपाले आफूहरुलाई सघाउने र बाँकी सबै ठाउँमा नेकपालाई सघाउने अध्यक्ष केसीले बताउनुभयो ।
मौखिक रुपमा सहकार्यको सहमति भए पनि दुई पार्टीबीच लिखित सहमति हुन भने बाँकी रहेको छ । भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्व सचिव कृष्ण अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।