जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार २१:१५

उम्मेद्धार छान्न कांग्रेसलाई सकस : चार सांसदका लागि ४३ आकांक्षी


काठमाडौं, कात्तिक ६

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्न सकस परेको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको मापदण्ड तथा आकांक्षीहरूका सबल र कमजोर पक्षका विषयमा छलफल भएको छ ।

एक प्रतिनिधिसभा सांसदका लागि १६ जना र तीन प्रदेश सांसदका लागि २७ आकाक्षी देखिएपछि कसलाई उम्मेद्धार बनाउने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ । स्थानीय तहका उम्मेदवारको हकमा भने तल्ला निकायले निर्णय गर्ने भएका छन् । मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन हुँदै छ ।

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६ जना आकांक्षीको सूची केन्द्रीय कार्यालयमा आइपुगेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रको रिक्त तीन स्थानका लागि भक्तपुर, बागलुङ र दाङमा पनि आकांक्षी धेरै छन् । भक्तपुरबाट १०, दाङबाट १३ र बागलुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको छ ।

उम्मेदवार छनोट गर्ने आधिकारिक निकाय संसदीय समिति गठन नभएकाले कांग्रेसले पदाधिकारी बैठकबाटै टुंगो लगाउने तयारी गरेको छ । विवादका कारण एक वर्षअघि विघटन भएको संसदीय समिति पुनः गठन नभएकाले केन्द्रीय कार्यसमितिबाट अधिकार प्रत्यायोजन गराई पदाधिकारी बैठकबाट उम्मेदवार छनोट गर्ने तयारी कांग्रेसले गरेको हो । त्यसका लागि केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दै छ ।