जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ०८:१६

विदेशमा हुनुहुन्छ, यो समयमा लगाउनुहोस् भाइटिका


काठमाडौं, कात्तिक ७

कात्तिक १२ गते (अक्टोबर २९)मा पर्ने भाइ टीकाको साइतको समय ठाउँअनुसार फरक फरक तोकिएको छ । यसअघि दसैंको साइतसमेत यसैगरी तोकेको थियो । त्यतिबेला कतिपय देशमा टीकाको साइतको दिन नै फरक परे पनि यसपालि भने एउटै तिथीमा भाइटीका परेको छ तर समय भने फरक रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको बैठकपछि सभापति प्राडा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष बशिष्ठद्वारा जारी गरिएको संयुक्त वक्तव्यमा सो समय तालिका सार्वजनिक गरिएको हो । सो वक्तव्यमा जनाइएअनुसार काठमाडौंमा टीकाको साइत कात्तिक १२ गते बिहान ११ः५५ बजे तोकिएको छ भने भारतको नयाँ दिल्लीमा सोही दिन बिहान ११ः४५बजे, अमेरिकाको न्यूयोर्कमा सोही दिन मध्यान्ह १२ः५१ बजे, अमेरिकाकै केन्टुकीमा सोही दिन १२ः१८ बजे, अमेरिकाकै टेक्सासमा १२ः५७ बजे र अमेरिकाको क्यालिफोर्नियामा १२ः५१ बजेको समय तोकिएको छ ।

त्यस्तै, बेलायतको लण्डनमा २९ तारेखको दिन ११ः४५ बजे, क्यानडाको टोरन्टोमा सोही दिन १३ः१५ बजे, जापानको टोकियोमा ११ः५१ बजे, अष्ट्रेलियाको सिड्नीमा १३ः०५ बजे, अष्ट्रेलियाकै मेलबर्नमा १२ः५० बजे, सोही देशको ब्रिसबेनमा १२ः०५बजेको समय तोकिएको छ ।

यसैगरी, पोर्चुगलको लिस्बनमा १२ः३० बजे, फ्रान्सको पेरिसमा १२ः१० बजे, मलेसियाको क्वालालम्पुरमा १२ः३१ बजे, युएईको अवुधाबीमा १२ः०३ बजे समय तोकिएको छ । कतारको दोहामा सोही दिन बिहान ११ः१५ बजे, थाइल्याण्डको बैंककमा ११ः४५ बजे, दक्षिण कोरियाको सिउलमा १२ः१५ बजेको समय तोकिएको छ ।

यस्तै, इजरायलको तेलअभिभमा ११ः४० बजे, सिंगापुरमा १२ः३१ बजे, हङकङमा १२ः०१ बजे र साउदी अरेबियामा ११ः३६ बजेको समय तोकिएको सो समितिले जनाएको छ ।