जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ०८:२४

काभ्रेबाट विप्लव समुहकी जिल्ला सेक्रेटरी पक्राउ


काभ्रे, कात्तिक ७

प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समुहकी जिल्ला सेक्रेटरी पक्राउ परेकी छन् । सुन्तली थोकरलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । प्रहरी चौकी पनौतीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेत नेतृत्वको टोलीले पनौती ९ बाट थोकरलाई पक्राउ गरेको जानकारी दिएको छ ।

३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ । रोशी गाउँपालिकाको शिसाखानीबाट पनि बुधबार राती थप २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनुभयो । पछिल्लो समय सो क्षेत्रमा विप्लव समुहको गतिविधि बढेको भन्दै प्रहरीले निगरानी राखेको थियो ।

चन्दा असुली र गतिविधि बढाएपछि प्रहरीले चन्द समूहका कार्यकर्ता माथि निगरानी बढाएको हो । केही दिनअघि चन्द समूहका कार्यकर्ताले महाभारत र रोशी गाउँपालिकाका विभिन्न ४ स्थानमा सिलिण्डर विस्फोट गराएका थिए । चन्द समूहले व्यवसायीलाई चन्दा आतंक तीव्र पारेको प्रहरीले जनाएको छ ।