जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार १८:०६

रोशनीको निवेदनले अदालतमा परेन कुनै प्रभाव : महरालाई थप ७ दिन थुनामा राख्न अनुमति


काठमाडौं, कात्तिक ७ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौन दुर्ब्यवहारको आरोप लगाएपछि पक्राउ परेको तात्कालिन सभामुख कृष्णबहादुर महरालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आज प्रहरीलाई सो आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो । महरा गत असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका थिए । प्रहरीले पक्राउ गरेलगत्तैबाट महरा बिरामी परेका थिए । महरा अहिले पनि नर्भिक अस्पतालमा उपचाररत रहेका छन । प्रहरीले महराको बयान लिइसकेको छ । प्रहरीले अदालतबाट महरालाई अनुसन्धान गर्न म्याद थप गरेको यो तेस्रो पटक हो ।

काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि म्याद थपको माग अदालतसमक्ष गरेको थियो । अदालतले गम्भीर प्रकृतिको मुद्दा भएको र लामो समय महराले बयाननै नदिएको तथ्य थाह पाएपछि पुनः तेस्रो पटक म्याद थप गरेको हो । यसअघि नै अदालतमा महरामाथि बलात्कारको आरोपसहित प्रहरीमा किटानी जाहेरी दिने रोशनी शाहीले महरा निर्दोष रहेको र घटना भएको दिन आफ्नो कोठामा नआएको, औषधीको ओभर डोजका कारण बेहोसी अवस्थामा आफूले आरोप लगाएको निवेदन दिएकी थिइन । तर अदालतले उनको फेरिएको बयान र निवेदनलाई बेवास्ता गरेको छ ।

प्रहरीले महरामाथि अनुसन्धान गर्ने क्रममा लिएको बयानमा महराको भनाई नै बाझिएको छ । शाहीको कोठामै पुगेर रक्सी सेवनपछि बलात्कार प्रयाश गरेको र अस्वीकार गर्दा कुटपिटको आरोप लागेका महराले आफ्नो भनाईलाई नै काटने गरी फरक फरक बयान दिएपछि प्रहरीले अनुसन्धानका लागि म्याद थपको अनुमतिसहित आज महरालाई अदालतमा उपस्थित गराएको हो । शाही बलात्कार प्रकरणमा महराले प्रहरी समक्ष मराले दिएको बयान प्रश्नैपिच्छे बाझिएको हो । अनुसन्धानमा संलग्न एक अधिकृतले जनाताटाइम्सलाई दिएको जाकनारीअनुसार घटना भएको दिन असोज १२ गते साँझ शाहीको कोठामा पुगेको भनी सार्वजनिक स्वीकारोक्ति गरेका महराले शाहीले बयान फेरे जस्तै सो दिन आफू शाहीको घरमा जाँदै नगएको बयान दिएका छन ।

बयानको क्रममा महराले प्रहरीले बरामद गरेका सवुतसमेत झुटा भएको भन्दै घटना घटेको दिन आफू रोशनी शाहीको डेरा रहेको घर नजिकसम्म मात्रै पुगेको तर घरभित्र नगएको जनाएका हुन । रोशनी शाहीसँगको सम्बन्धबारे भने महराले पारिवारिक सम्बन्ध रहेकोले आउजाउ भइरहने बताएका छन । आफूहरुबीच पारिवारिक सम्बन्ध रहेको कारण आउजाउँ भइरहने र सो दिन रोशनीसँग झगडा परेकोले सम्झाउन गएको तर शाहीको फोन नउठेपछि घरभित्र नगई फर्किएको महराले बयान दिएका छन । तर सो दिन सिसिटीभी फुटेजमा भने महरा एक घण्टा १९ मिनेट शाही बस्ने घरमा रहेको देखिएको छ ।

‘रोशनी शाहीसँग दिउँसोदेखि झगडा परेकोले सम्झाउनका लागि भेट्न जान लागेको थिएँ, तर फोन नउठेपछि घरभित्र नछिरी फर्किएको हो,’ महराको बयान उधृत गर्दै स्रोतले भन्यो । के बिषयमा झगडा परेको हो भन्नेबारे भने महराले केही खुलाएका छैनन । महराले शाहीसँग दिउसो झगडा परेपछि साँझ सम्झाउन गएको भन्ने तथ्य भने खोलेका छन । के बिषयमा झगडा थियो भन्ने बिषयबारे बयानमा केही खोलेका छैनन ।