बिराटनगर, कात्तिक ८ । कार्यबहाक प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य इश्वर पोखरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच देखिएको भनिएको बिवाद, सभामुख चयन र जनयुद्धबारे मुख खोल्नुभएको छ । केही दिनयता अध्यक्षद्वय ओली र प्रचण्डबीच बिवाद भएको र दुई नेताको मतभेदले नेकपाभित्र ठुलै समस्या आउने भन्दै प्रचार भइरहेको बेला पोखरेलले तीन ओटै बिषयमा जवाफ दिनुभएको हो ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले विराटनगरमा आज विहान पत्रकारसँग कुरा गर्दै अध्यक्षद्वयबीच कुनै बिवाद र समस्या नरहेको प्रष्ट पार्नुभयो । ‘सहमतिकै आधारमा पार्टी चलेको छ र सहमतिअनुसार नै दुई जना अध्यक्ष बनेर चलिरहेको छ, उहााहरुबीच कुनै बिवाद छैन, कोही भ्रममा नपरे हुन्छ,’ पोखरेलले भन्नुभयो । पार्टी एकता राष्ट्रिय आवश्यकता र जनताको चाहनाले भएको हुँदा यसलाई आँच पुर्याउने काम कसैले गर्न नहुने तथ्यसमेत उहाँले राख्नुभयो ।
‘दुई वटा पार्टी अलग–अलग पृष्ठभूमिबाट आएर एकता भएकाले विभिन्न विषयमा छलफल र भनाभन हुन सक्छ त्यसलाई अस्वाभाविक नमान्न सबैलाई आग्रह छ,’ उहाले भन्नुभयो, ‘पार्टीका दुई अध्यक्षबीच कुनै किसिमको विवाद छैन, दुबै अध्यक्षबीच दैनिक भेटघाट र कुराकानी भइरहेकोले सञ्चारमाध्यममा आए जस्तो कुनै किसिमको विवाद र असमझदारी छैन ।’ पोखरेलले तात्कालिन माओवादीले गरेको जनयुद्धलाई अपराधका रुपमा बुझन नहुने धारणा पनि राख्नुभयो ।
‘जनयुद्धलाई अपराधका रुपमा नबुझ्नोस,’ पोखरेलले भन्नुभयो । उहाँले तत्कालीन फोरम कार्यकर्ताले गौर हत्याकाण्डमा माओवादीका नेता कार्यकर्त्तालाई गरेको विषयमा छानबिन गरी कारबाही हुने जानकारी पनि दिनुभयो । ‘गौर हत्याकाण्डको पनि छानबिन हुन्छ, विगतमा भएका जुनसुकै अपराधहरु होस, तथ्यसहित अगाडि आयो भने छानबिन गरी कारबाही हुन्छ,’ कार्यबहाक प्रधानमन्त्री पोखरेलले भन्नुभयो ।
कांग्रेस नेता मो. अफ्ताव आलम पक्राउ गर्नु कुनै प्रतिशोध नभएको पनि उहाले स्पष्ट पार्नुभयो । कांग्रेस नेताहरुले नेकपा सरकारले प्रतिशोध साँध्न आफ्ना नेता आलमलाई पक्राउ गरेको भन्दै विरोध गर्दै आएको छ । कावा प्रधानमन्त्री पोखरेलले सर्वोच्च अदालतले दिएको आदेश सरकारले कार्यान्वयन गरेको जानकारी दिनुभयो । यस्तै सभामुख चयन प्रकरणमा पार्टीभित्र अहिलेसम्म छलफल नै नभएको जानकारी पनि उहाँले दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्