मुग्लिन, माघ २२ । जिल्लाको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि घरबास (होमस्टे) सञ्चालनमा जोड दिएको छ । स्थानीय समुदायको आयआर्जन वृद्धि गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले पालिकाले घरबास प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको हो । इच्छाकामनाका पर्यटकीयस्थल र आसपासका गाउँमा घरबास सञ्चालनमा जोड दिइएको पालिका कार्यालयले जनाएको छ । ती घरबास सञ्चालनका लागि पालिकाले आर्थिक, प्राविधिकलगायत सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिनुभयो ।
पछिल्लो समय गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं २ घुर्केशस्थित पुरानो गुरूङ गाउँमा परम्परागत घरमा १४ वटा होमस्टे सञ्चालनमा आएका छन् । ती घरबास सञ्चालकको क्षमता विकासका लागि गत शुक्रबार र शनिबार दुई दिन मुलुकको पहिलो घरबास स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरूबारीकोे भ्रमण गरिएको बताउँदै पूर्वाधार विकासका योजना बनाइने उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष गुरूङका अनुसार घरबास सञ्चालकको क्षमता विकासका लागि अध्ययन भ्रमण गराइएको हो । उहाँले भन्नुभयो,‘पर्यटकलाई कसरी स्वागत, सत्कार गर्ने र व्यवसायीक रूपमा घरबास सञ्चालन कसरी गर्न सकिन्छ भन्ने जानकारी होस् भन्ने उद्देश्यले सरूबारीको अवलोकन भ्रमण गराइएको हो ।’
उहाँका अनुसार यसअघि घरबास सञ्चालकलाई तालिम दिइएको छ । दुई महिना अघिदेखि घुर्केश गाउँमा होमस्टे सञ्चालन गर्दै आउनुभएका माया गुरूङले यस भ्रमणबाट घरबासमा आउने पाहुनालाई स्वागत सत्कार कसरी गर्ने भन्ने विषयमा थप ज्ञान प्राप्त भएको बताउनुभयो । घरबास सञ्चालनसँगै घुर्केश गाउँमा पर्यटकको आगमन बढेको उहाँले विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय इच्छाकामनाका पर्यटकीयस्थलमा पर्यटकको आगमन बढेको छ । पर्यटकको आगमन बढेसँगै गाउँपालिकाले घरबास सञ्चालनमा जोड दिएको अध्यक्ष गुरूङले बताउनुभयो ।
इच्छाकामना गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम रहेकाले यहाँका ऐतिहासिक किल्ला उपर्दाङ्गढी, सूर्योदय हेर्न सिराइचुली, ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर, बालगौरी पाथीभरासिंहदेवी माई मन्दिर, लामो झरना, त्रिशूली नदीमा र्याफ्टिङ, हात्तीवाङ गाउँ, मायाटार, घुर्केशगाउँलगायत स्थान पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएका उहाँको भनाइ छ । उपर्दाङ्गढी, हात्तीवाङ, मायाटार घुर्केशलगायत गाउँका घरबास पर्यटकको रोजाइमा परेका छन् । यहाँ गुरूङ, मगर, सिमान्तकृत चेपाङ, गिरी, पुरी समुदायको घरबास सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्