मकवानपुर, माघ २४ । बागमती प्रदेशसभा सचिवालय, प्रदेश स्वास्थ्य मन्त्रालय र जीव विज्ञान प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा योग, ध्यान, अभ्यास र जागरण कार्यक्रम सम्पन्न भएको छ । आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाका साथै प्रदेशका मन्त्रीहरू, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, प्रदेशसभाका सांसदलगायय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।
साथै विभिन्न मन्त्रालयका सचिव, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि र स्थानीय सजावसेवीको सहभागिता रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । समारोहलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री लामाले मुलुकमा दिगो शान्ति स्थापन गर्न, राजनीतिक स्थायित्व कायम गर्न मानव जीवनमा सकरात्मक सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने भन्दै योग र ध्यानका माध्यमबाट सकारात्मक मार्गमा हिड्न सकिने धारणा राख्नुभयो ।
समाजप्रति जवाफदेही बनाउन प्रत्येक नागरिकको मस्तिष्कमा योग, साधना र जागरण आवश्यक पर्ने हुँदा त्यसतर्फ क्रियाशील हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री लामाले समाजलाई नयाँ रुपान्तर गर्न योग र साधनाको शिक्षा आवश्यक भएकाले सङ्घीय र प्रदेश सरकारले समन्वय र सहकार्य गरेर स्थानीय तहमा रहेका विद्यालयमा योग शिक्षालाई अनिवार्य अध्यापन गराउन गुरुयोजना तर्जु गरी कार्यान्वय गर्ने बताउनुभयो ।
प्रदेशसभाका सभामुख पाठकले मानव जीवनमा दैनिक आइपर्ने विभिन्न प्रकारका तनावलाई नियन्त्रणमा राख्दै आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न योग, ध्यान र अभ्यास आवश्यकता पर्ने बताउनुभयो । उहाँले समाजलाई सभ्य, स्वस्थ, प्ररोपकारी तुल्याउन हरेक क्षेत्रमा बसोबास गर्ने नागरिकले व्यवहार, जीवनशैलीमा परिवर्तन गरी योग, ध्यानतर्फ सहभागी हुँदै जानुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
जीव विज्ञान प्रतिष्ठानका प्रमुख प्रशिक्षक भानु शर्माले मानवको मस्तिष्कलाई स्वस्थ तुल्याउन र विभिन्न सङ्क्रमण तथा रोगबाट बच्न स्वस्थ खानपिनका साथै योग, ध्यानमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि प्रदेश सरकार र स्थानीय निकायले पनि यस्ता किसिमका शिविर सञ्चालन गरिरहनुपर्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्