सियोल, फागुन २ । दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक आरामदायी होटलमा शुक्रबार भएको आगलागीमा परी छ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय समयअनुसार बिहान ११ बजेतिर ‘बनयान ट्रि होटल’ मा आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन् ।
‘नेशनल फायर एजेन्सी’का एक अधिकारीले एएफपीलाई बताएअनुसार आगलागी हुँदा करिब १०० जना कामदार होटेलमा रहेका थिए । कामदारहरूले इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी सुरु भएको हुन सक्ने अग्नि नियन्त्रण विभागका एक अधिकारीले बताउनुभयो ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले अधिकारीहरूलाई ‘आगो निभाउनका लागि उपलब्ध सबै कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
चोइले भन्नुभयो,‘खोजी र उद्धार कार्यका क्रममा हताहत हुनबाट जोगाउन हरसम्भव प्रयास गरिनुपर्दछ र अग्निनियन्त्रकहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्दछ ।’ दिउँसो १ः३० बजेतिर आगो नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्