जनता टाइम्स

२ फाल्गुन २०८१, शुक्रबार १४:२१

यान्त्रिक गडबडीका कारण अमेरिकी विदेशमन्त्री रूबियोको विमान फिर्ता


वासिङ्टन, फागुन २ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको विमानमा यान्त्रिक समस्याका कारण दोस्रो विदेश भ्रमणका लागि उडेको विमान बिहीबार स्वदेश फर्कन बाध्य भएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । विदेशमन्त्री रुबियो म्युनिख सुरक्षा सम्मेलनका लागि जाँदै गर्दा उहाँको विमान अचानक वासिङ्टनबाहिर एन्ड्रयुज एयर फोर्स बेसतर्फ फर्किएको एएफपीका एक संवाददाताले बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भन्नुभयो,‘विदेशमन्त्री रुबियो उडिरहेको विमानमा यान्त्रिक समस्या देखिएपछि जोइन्ट बेस एन्ड्रयूजमा फर्किएको छ ।’ ‘विदेशमन्त्रीले जर्मनी र मध्यपूर्वको आफ्नो यात्रालाई छुट्टाछुट्टै विमानमार्फत् जारी राख्नुहुनेछ,’ उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युद्ध अन्त्यका लागि कूटनीति अघि बढाउने बताएपछि रुबियोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग आज भेटवार्ता गर्ने तयारी गर्नुभएको थियो । रुबियोले इजरायल, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) मा गाजा युद्धविरामबारे पनि छलफल गर्नुहुनेछ । हमासको आक्रमणका कारण १६ महिना लामो युद्धमा इजरायलले कब्जा जमाएको गाजाका प्यालेस्टिनी बासिन्दालाई देश निकाला गर्ने ट्रम्पको प्रस्तावमाथि पनि उहाँले छलफल गर्ने बताइएको छ ।