जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १८:२१

नेकपा बिवाद : माधव नेपाल पक्षधरले बनाए समानान्तर कमिटी


काठमाडौं, कात्तिक ९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखमा विद्रोह सुरु भएको छ । जिल्ला कमिटीले सवै स्थानीय तहको नेतृत्व टुंगो लगाएको केही दिनमै पूर्वएमाले र पूर्वमाओवादीका असन्तुष्ट नेताले समानान्तर कमिटी घोषणा गरेका छन ।

‘जिल्ला अध्यक्ष र सचिवबाट पार्टी केन्द्रीय कमिटीको निर्देशन विपरित काम भयो, पुराना नेताको योगदान र संघर्षको कुनै कदर भएन, त्यसैले हामीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी तथा ११ वटै स्थानीय तहका कमिटी घोषणा गरेका छौं,’ कर्णाली प्रदेश कमिटी सदस्य अम्मरबहादुर थापाले भन्नुभयो । थापा नेकपामा माधव नेपाल पक्षधर हुनुहुन्छ । सोही आधारमा थापासहितका नेपाल पक्षधर नेताहरुले माथि बरिष्ठ नेता नेपालले लडने भन्दै समानान्तर कमिटी घोषणा गरिएको हो । तीनै तहका कमिटी गठनको क्रममा केही नेताले व्यक्तिगत रुपमा मनोमानी गरेको थापाको आरोप छ ।

थापाले नै बरिष्ठ नेता माधवकुमार नेपालसहितका पूर्वएमाले समुहका नेतासँग छलफल गरी समानान्तर कमिटी बनाउने डिजाइन गर्नुभएको हो । गत मंगलबार मात्रै जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, सचिव प्रेमबहादुर कटुवाल र केही प्रदेश र जिल्ला कमिटी सदस्यको उपस्थितीमा दुई प्रतिनिधिसभा, चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, ११ स्थानीय तह तथा ९० वडा कमिटी घोषणा भएको थियो । सर्वसम्मत घोषणा गरिएको कमिटी थापा समुहलाई चित्त नबुझेको हो । केही नेताले व्यक्तिगत स्वार्थमा कमिटी गठन गरेको भन्दै थापा नेतृत्वको असन्तुष्ट पक्ष विरोधमा उत्रिएको हो ।

कर्णाली प्रदेश कमिटीका सदस्य थापा नेतृत्वको असन्तुष्ट समुहमा सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्य पार्वती कुमारी विशुन्के, टेकबहादुर खाण, सावित्री मल्ल, गोपाल नेपाली, मायाराम अधिकारीलगायत हुनुहुन्छ । असन्तुष्ट पक्षले कात्तिक १५ गतेसम्मको अल्टिमेटम दिएको छ । पार्टी नेतृत्व नसच्चिए पुनः भेला गरि जिल्लाका सबै कमिटी गठन गर्ने चेतावनी पनि दिएको छ ।