जनता टाइम्स

१५ फाल्गुन २०८१, बिहीबार १९:३८

पाल्पामा मगर दिवसको उल्लास


तानसेन, फागुन १५ । जिल्लामा ४३औँ मगर एकता दिवस गाउँ, टोल, समुदायसम्म खुसियालीका साथ मनाइएको छ । मगर समुदायले विभिन्न परिकार खाने, नाचगान गर्ने, रमाउने गरेर मगर एकता दिवस मनाएका हुन् । मगरी परिकार बटुक, चुकाउने, अचार, सेलरोटी, नाम्या, बङ्गुर र कुखुराका मासुका परिकार खाएर रमाइलो गरेका छन् ।तानसेनस्थित कैलाशनगरमा भेटिनुुभएकी खगिश्वर मगरले आफ्नो जातिय पहिरनमा सजिन पाउँदा खुसी लागेको बताउनुभयो ।

‘यो हामी मगर जातिलाई चिनाउने पोशाक र चिनारी हो, बिर्सनु भएन । अनि पो संस्कृति बाँचिरहन्छ’, उहाँले भन्नुभयो । माथागढीकी अनिशा आले सराइमा भएको सांस्कृतिक महोत्सवमा चिटिक्क मगरी परिहनमा देखिनुभयो । उहाँले आफ्नो संस्कृति बचाइ राख्न उत्सवको अवसरमा पोसाक लगाएको बताउनुभयो । कार्यक्रममा मगर समुदायको भेषभूषा तथा झाँकी गीत र नृत्यले दिवसलाई रौनकता थपे ।

‘मगर एकता दिवस मगर बाहुल सबैका घर, गाउँटोलसम्म खुसीका साथ मनाएका छन्’, बगनासकाली गाउँपालिका यम्घाका विष्णु गाहाले भन्नुभयो,‘मगर एकता दिवसमा मगर समुदायका लागि महत्वपूर्ण दिन हो । रमाउने, खुसियाली साटासाट गर्ने दिनका रूपमा मनाउने गरिएको छ । यहाँ बगनासकालीको चिलाङ्दीमा विविध सांस्कृतिक कार्यक्रम भएका छन् ।’ त्यसैगरी रामपुरमा एकीकृत मगर उत्थान समाजले १७औँ वार्षिक उत्सवसँगै विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

रम्भा गाउँपालिकाको नाँचनडाँडामा विविध सांस्कृतिक कार्यक्रम गरियो । यहाँका १० वटै स्थानीय विविध कार्यक्रम आयोजना भए । दिवस मनाउन पाल्पाका १० वटै स्थानीय तहले बिदा दिएका थिए । सार्वजनिक बिदाका कारण पालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था बन्द रहे । मगर दिवस विशेष कार्यक्रममा मगर संस्कृतिमा आधारित कौरा, मारुनी, झ्याउरे तथा सालैजोलगायतका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।

पछिल्लो जनगणना अनुसार पाल्पामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको ६.९ प्रतिशत हो । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन् ।