जनता टाइम्स

११ कार्तिक २०७६, सोमबार ०९:०४

जुवातास खेलेर सम्पत्ति बर्बाद गर्ने र पारिवारिक जीवन खण्डित पार्ने प्रवृति घातक छ : मुख्यमन्त्री पोखरेल


काठमाडौं, कात्तिक ११ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तडकभडकपूर्ण नभई तिहार पर्व मौलिक पहिचान जोगाउँदै पारिवारिक मिलन र सामाजिक सद्भावका रुपमा मनाउन सवै प्रदेशवासीमा हार्दिक अपील गर्नुभएको छ । तिहारको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पोखरेलले तिहारले पनि पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको पनि बताउनु भएको छ ।

‘नेपालीको मौलिक पर्व तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा नयाँ पुस्ताप्रति न्याय हुनेछ । परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृति बोकेर आइरहनु नेपाली समाजका लागि चिन्ताको विषय हो । अहिले पर्वमा तडकभडक बढ्न थालेको छ । सामाजिक मूल्य मान्यतालाई जोगाउँदै तडकभडक गरेर नभई मौलिक ढंगले चाडपर्व मनाउन ध्यान दिनुपर्छ । तिहारमा जुवातास खेलेर सम्पत्ति बर्बाद गर्ने र पारिवारिक जीवन खण्डित पार्ने प्रवृति नेपाली समाजका लागि घातक छ । पटका पड्काउने क्रियाकलापले बालबालिकामा दुर्घटनाको जोखिम बढेको छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

यस्तो छ शुभकामना

दिपावली अर्थात तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । चाडपर्वको नेपाली समाजमा बहुआयामिक महत्व छ । पारिवारिक मिलन र सामाजिक सद्भावका लागि चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सुत्रमा बाँधेर समाजलाई गतिशिल बनाउनु हाम्रा चाडपर्वका विशेषता हुन् । तिहारले पनि पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तिहारको मौलिकता जोगाउँदै अघि बढ्न सक्दा यसको सांस्कृतिक महत्व उजागर हुन्छ ।

नेपालीको मौलिक पर्व तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा नयाँ पुस्ताप्रति न्याय हुनेछ । परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृति बोकेर आइरहनु नेपाली समाजका लागि चिन्ताको विषय हो । अहिले पर्वमा तडकभडक बढ्न थालेको छ । सामाजिक मूल्य मान्यतालाई जोगाउँदै तडकभडक गरेर नभई मौलिक ढंगले चाडपर्व मनाउन ध्यान दिनुपर्छ । तिहारमा जुवातास खेलेर सम्पत्ति बर्बाद गर्ने र पारिवारिक जीवन खण्डित पार्ने प्रवृति नेपाली समाजका लागि घातक छ । पटका पड्काउने क्रियाकलापले बालबालिकामा दुर्घटनाको जोखिम बढेको छ । तिहारमा जुवातास खेल्ने र पटका पड्काउने क्रियाकलापलाई निरुत्साहित गर्न राज्यले चाल्ने कदममा सबैले सहयोग गरौं, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि एकताबद्ध भई अघि बढौं ।

तडकभडकपूर्ण नभई तिहार पर्व मौलिक पहिचान जोगाउँदै पारिवारिक मिलन र सामाजिक सद्भावका रुपमा मनाउन म समस्त प्रदेशवासीमा हार्दिक अपील गर्दछु । संविधानको सफल कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । यो लक्ष्यलाई साकार पार्न सबै एकताबद्ध भई अघि बढ्न आवश्यक छ समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु । अन्त्यमा, तिहार पर्वको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमलय शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६, कार्तिक ११