जनता टाइम्स

७ चैत्र २०८१, बिहीबार १८:१७

मानसिक विकासका लागि खेलकुद आवश्यक : सभापति देउवा


ललितपुर, चैत ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘खेलकुद नीति तथा कार्यक्रम’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका उहाँले पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास हुने बताउनुभयो ।

‘तपाईंहरुको सुझाव पार्टीले ग्रहण गर्नेछ, मानसिक स्वास्थ्यका लागि शरीरको स्वस्थता पनि आवश्यक छ, खेलकुदले यी दुवै पक्षलाई स्वस्थ राख्ने काम गर्छ,’ उहाँले भन्नुभयो । कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘खेलकुद पूर्वाधार निर्माण गर्नेभन्दा पनि कुनै एउटा प्रतियोगिता जित्नेबित्तिकै पुरस्कार घोषणा गर्नेमा सरकारलाई हतार हुन्छ, खेलकुद विश्वविद्यालयको अवधारणाका विषयमा नेताहरु साक्षात्कार हुन सकेका छैनन्, खेलकुद विश्वविद्यालय, खेलकुद उद्योग र खेलकुद पर्यटनलाई ध्यान दिनुपर्छ, नेपालमा प्रशस्त सम्भावना छ,’ उपसभापति गुरुङले भन्नुभयो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा खेलकुदसम्बन्धी नीतिगत व्यवस्था अगाडि बढेको उल्लेख गर्दै बजेट बन्नेक्रममा रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा खेलकुदका कार्यक्रमलाई सम्बोधन गरिए पनि लगानीको समस्या रहेको बताउनुभयो । पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले खेलकुदलाई महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै खेलकुदलाई पनि अरु विषयलाई जस्तै ध्यान दिएर अगाडि बढाउने धारणा राख्नुभयो ।

लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचनले हाल जिल्लाजिल्लामा खेलकुद सङ्घको अधिवेशन गराइरहेको जानकारी गराउँदै अधिवेशनसँगै खेलकुदका गतिविधि र नीतिगत विषयमासमेत बहस भइरहेको जानकारी गराउनुभयो । संविधानसभा सदस्य मोहन राईले कांग्रेसको नीतिमा खेलकुदलाई समेटेर खेलकुद परिषद्, ओलम्पिक कमिटी र मन्त्रालयबीचको समन्वयलाई जोड दिनुपर्ने बताउनुभयो ।