जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार ११:३०

बलात्कार आरोपमा अनेरास्ववियुका केन्द्रीय सदस्य पक्राउ


काठमाडौं, कात्तिक १२

१८ वर्षे युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आरआर क्याम्पसका स्ववियू सह–सचिव इन्द्रहाङ राईलाई राजधानीबाट पक्राउ गरेको छ ।

गोकर्ण ६ माकलवारीमा सोमबार साँझ १८ वार्षीया युवतीमाथी बलत्कार गरेको आरोपमा आज विहान ६ बजे नै उनलाई पक्राउ गरेको हो । पीडित किशोरीको बयान र उजुरीका आधारमा राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको जानकारी दिएको छ ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो । पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ‘काम छ, आउन’ भन्दै राइले बोलाएर आफूलाई बलात्कार गरेको बताएकी छिन् ।

राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको राईकै साथीको कोठामा लगी किशोरीलाई बलात्कार गरेका हुन् । प्रहरीले युवतीको स्वास्थ्य परिक्षण गर्न परोपकार प्रसुती गृह लगेको छ । देउसी खेल्न बोलाएर राईले बलात्कार गरेको किशोरीले बताएकी छिन् ।