जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १६:०६

शंखधर साख्वाःबारे पर्यटनमन्त्री योगेश भट्टराई र सांसद महेश बस्नेतले गरे ऐतिहासिक काम गर्ने यस्तो घोषणा


भक्तपुर, कात्तिक १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक वर्ष नेपाल सम्वतका दिन सरकारको क्यालेण्डरमा राखेर सरकार प्रमुखबाट हरेक वर्ष शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्ने घोषणा गर्नुभएको छ । नेपाल संवत् ११४० को अवसरमा मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो ।

उहाँले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी वर्षदेखि यो कार्यक्रम प्रतिष्ठानसँग संयुक्तरुपमा आयोजना गर्ने र यसको जिम्मेवारी सरकारले बहन गर्ने घोषणा गर्नुभयो । नेपाल प्रसङ्गलाई कार्यान्वयनमा ल्याउन सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

 

प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले मध्यपुरथिमि नगरपालिकाले निर्माण गर्न लागेको शंखधर साख्वाः स्मृति पार्क, शंखधर सङ्ग्रहालयलगायतका गुरुयोजना पूरा गर्न सांसद् विकास कोषबाट आफूले ५० लाख रुपैया प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले मध्यपुरथिमिलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन सरकारले बजेट विनियोजन गरेर काम गरिरहेको बताउनुभयो ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री शालिकराम जमकट्टेलले साख्वाःले गरेको परिवर्तनको सुरुवातलाई समावेशी र समानुपातिक ढङ्गबाट राज्य व्यवस्था अगाडि बढिरहेको बताउनुभयो । राप्रपाका नेता एवम् पूर्वसञ्चारमन्त्री टंक ढकाल, नेपाली काँग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल प्रसङ्गलाई सबै जातजाति, समुदायको प्रसङ्ग बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर पार्क, शंखधर सामुदायिक भवन निर्माणको गुरुयोजना प्रस्तुत गर्दै रु १२ करोडको लागत रहेको गुरुयोजना पूरा गर्न नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको र बाँकी रकम प्रदेश तथा केन्द्रीय सरकारलाई सहयोग गर्न आह्वान गर्नुभयो । कार्यक्रममा काहीनाथ तमोट र सिन्हःस्वा खललाई सम्मान गर्नुका साथै प्रतिष्ठानले प्रकाशित गरेको शंखधर स्मारिकाको विमोचन पनि गरिएको छ ।