सिरहा, चैत २२ । सिराहाको धनगढीमाई नगरपालिका-१४, सर्रे अम्बासका एक कम्युनिस्ट योद्धा बलबहादुर सुनुवारको निधन भएको छ ।
बिहिबार सुनुवारको ८५ बर्षको उमेरमा सिराहा स्थित आफ्नै घरमा सुनुवारको निधन भएको हो । मदन भण्डारीको नेतृत्व स्थापित भएको तथा जनताको बहुदलीय जनवादको पृष्ठभूमि तयार भएको गौरवशाली इतिहास बोकेको सर्रे अम्बासको घर तत्कालिन मालेको चौथो महाधिवेशनका लागि उपलब्ध गराउने सुनुवार बिहिबार सधैंका लागि एउटा इतिहास कोरेर अस्ताउनु भएको हो ।
३४ बर्ष अघिको एउटा इतिहासलाई पुनर्ताजगी गर्दै नेकपा एमालेले २०८० साल भदौ १३ गते पार्टीको केन्द्रीय सचिवालयको बैठक समेत सोही घरमा आयोजना गरेको थियो । एमालेले सो ठाउँमा सचिवालय बैठक आयोजना गर्ने खबर पाएपछि बलबहादुर सुनुवार निकै उत्साहित समेत बन्नुभएको थियो ।
त्यो समयमा उहाँले आफुले बनाएको घरमा एमालेले ३४ बर्षपछि सचिवालयको बैठक आयोजना गरेकोमा खुशी व्यक्त गर्दै भन्नुभएको थियो, ‘आजको सहज परिस्थितिमा यो कुनाकाप्चामा यसरी बैठक हुन्छ जस्तो लागेको थिएन्, जे होस सम्झिएर आउनु भएछ सारै खुशी छु ।’
उनै एक योद्धा बिहिबार सधैंका लागि ढलेका हुन । पैतिस बर्ष अघि नेपालमा तानाशाही शासकहरुले कम्युनिष्ट पार्टीमाथि कडा प्रतिबन्ध लगाएपछि नेताहरु सुरक्षित स्थानको खोजीमा थिए ।
प्रतिवन्धित अबस्थामा नेता कार्यकर्ता धरपकड हुने सम्भावना भएपछि चुरे जंगलको वीचमा रहेको सर्रेआम्बासलाई नेताहरुले सुरक्षित स्थान ठानी तत्कालिन नेकपा मालेको चौथो अधिवेशन स्थल बलबहादुर सुनुवारले उपलब्ध गराएको घरमा आयोजना गरिएको थियो ।
तत्कालिन समयमा स्वर्गीय वलबहादुरको घर नेताहरुको सेल्टर (लुकिछिपी बस्ने र भेटघाट गर्ने) स्थल बनाउदै आएका थिए । स्वर्गीय बलबहादुर सुनुवारले उपलब्ध गराएको उक्त घरमा बसेर पञ्चायती व्यवस्थाको अन्त्यका लागि विभिन्न खालका योजना बनाउने, पार्टीको नयाँ रणनीति, बैठक गर्ने समेत गरिएको थियो ।
२०४६ सालमा जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादको आधार तथा संयुक्त जन आन्दोलनको कार्यदिशा तय गर्न सफल रहेको तत्कालिन नेकपा मालेको अधिबेशन समेत सम्पन्न गर्न घर उपलब्ध गराएर कम्युनिस्ट आन्दोलनमा एउटा बेग्लै इतिहास निर्माण गरेका सुनुवार बिहिबार सदाका लागि अस्ताउनु भएको हो ।
तत्कालिन समयमा भारतमा निर्वासित अवस्थामा कार्यक्रम गर्नु अवस्था थियो। देशभित्रै बसेर पञ्चायती दमनका बाबजुद पनि महाधिवेशन आयोजना गराउन महत्वपूर्ण योगदान पुर्याएको त्यो घर उपलब्ध गराउने कम्युनिस्ट पार्टीका एक अविचलित योद्धा बलबहादुर सुनुवार सँधै हामी माझ स्मरणीय रहेन छन ।
२०७७ साल असार १४ गते मदन भन्डारीको जन्मजयन्तिमा तत्कालिन नेकपा रहंदा मदन भण्डारी फाउन्डेसनले नगद ५१ हजार सहित जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादको आधार तथा संयुक्त जनआन्दोलनको कार्यदिशा तय गर्न सफल रहेको तत्कालीन नेपाल कम्युनिष्ट पाटी (मार्क्सवादी-लेनिनवादी) को ऐतिहासिक चौथो महाधिवेशन (भाद्र १-१४ २०४६) स्थल (सरें अम्बास, सिराहा) उपलब्ध गराई पार्टीलाई पुर्याउनु भएको सहयोगको उच्च मूल्यांकन गर्दै स्वर्गीय सुनुवारलाई सम्मान समेत गरिएको थियो ।
बिहिबार निधन भएका उनको शुक्रबार अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टिमा नेकपा एमाले उदयपुर अध्यक्ष भागवत राउत सहित पार्टीका नेताहरु उनको घरमा श्रद्धान्जली अर्पण गर्न पुगनू भएको थियो । उहाँहरूले पार्टीको झण्डा ओढाएर सुनुवारको अन्तिम बिदाई गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्