जनता टाइम्स

२६ चैत्र २०८१, मंगलवार ०९:३७

प्रजातन्त्र प्राप्तिमा चन्द्रशेखरको योगदान महत्त्वपूर्ण : सभापति देउवा


काठमाडौं, चैत २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताउनु भएको छ ।

गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याउनुभएको योगदान’ विषयक कार्यक्रममा सभापति देउवाले यस्तो बताउनु भएको हो ।

‘पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातन्त्रबारे नेपालमा मात्र होइन भारतमा पनि आवाज उठाउनुभएको थियो। उहाँ नेपाल आएपछि प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उत्साह थपिएको थियो,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले चन्द्रशेखरप्रति नेपालमा सम्मान र सदभाव रहेको बताउँदै अहिले पनि नेपालको गणतन्त्रात्मक व्यवस्थाप्रति भारतको सदभाव रहेको उल्लेख गर्नुभयो । ‘नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, गणेशमान सिंहलगायतप्रति उहाँको सम्बन्ध राम्रो थियो,’ सभापति देउवाले भन्नुभयो, ‘नेपाल धेरै पटक आउनुभएको र मैले पनि राम्रोसँग चिनेको थिएँ, भारतमा जाँदा म उहाँको निवासमा गएको छु। उहाँ सहयोगी हुनुहुन्थ्यो।’

सभापति देउवाले नेपाल–भारतबीचको खुला सिमानाले दुई देशको प्रगाढ सम्बन्धको महत्वबारे स्पष्ट पारेको उल्लेख गर्दै दुवै देशका जनताबीच समेत घनिष्ठ सम्बन्ध रहिआएको बताउनु भयो।