जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार ०९:५५

रौतहट बम बिष्फोट र हत्या प्रकरण : आफताव आलामको संलग्नता पुष्टि गर्ने प्रमाण जुटाउँदै प्रहरी


रौतहट, कात्तिक १३

प्रहरीले प्रतिनिधिसभाका निलम्बित सांसद अफताव आलमविरुद्ध प्रमाण जुटाउने कामलाई तिव्रता दिएको छ । संविधान सभाको पहिलो निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोटमा जिउँदै भएकालाई इँटा पोल्ने भट्टीमा हालेको आरोप लगाइएको छ ।

सो घटनाका घाइते अहिले प्रहरीसम्पर्कमा रहेको छ । घाइतेकै अनुरोधमा उनलाई अहिले सुरक्षित स्थानमा राखिएको छ । योसँगै अन्य प्रमाण जुटाउने प्रयास अन्तिम चरणमा रहेको प्रहरीले जानकारी दिएको छ । रौतहट जिल्ला प्रहरी कार्यालय मुद्दा अनुसन्धान शाखाका इन्चार्ज इन्स्पेक्टर पप्पु नायकका अनुसार घटनामा आलमको संलग्नता पुष्टी गर्ने प्रमाण जुट्दै छ । उहाका अनुसार केहीदिनभित्र सबै प्रमाण एकजुट बनाइने जानकारी दिनुभयो ।

घटनामा गम्भीर घाइते भएर पनि आलम निकट भएकै आधारमा भारतको विहार पुगेर उपचार गराइ ज्यान जोगाउन सफल सफी अहमदले पनि आलमविरुद्ध जाहेरी दिएका छन् । सफी नै प्रहरीको सबैभन्दा बलियो सवुत प्रमाण हो । घटनामा परी आन्द्रासमेत बाहिर निस्किसकेको अवस्थामा भारतको बिहारस्थित मोतिहारीमा उपचार गराएपछि ज्यान जोगिएको सफी अहमद, आलम पक्राउ पर्नुअघिसम्म उनी विरुद्ध बोल्न हिम्मत गर्न सकेका थिएनन् । आलमलाई प्रहरीले नियन्त्रणमा लिए लगत्तै उनी आफै जिल्ला प्रहरी कार्यालय रौतहट पुगेर जाहेरी दिएको प्रहरीले जनाएको छ ।

चुनावको दिन विष्फोट गराएर बुथ कब्जा गर्न आलमले बिहारका करिब एक दर्जन युवालाई बम बनाउने काममा लगाएका थिए । बम बनाउने कार्यमा उनीहरुलाई नै सघाउन सर्लाही गोरैताका सफी अहमद, रौतहट सरुअठाका पिन्टु (त्रिलोकप्रताप) सिंह र ओसी अख्तरलगायत युवालाई खटाइएको थियो । सिंह र अख्तरलगायत बमको छर्रा लागेर घाइते भएका भारतीय युवाहरुलाईसमेत प्राथमिक उपचारको नाममा बेहोस पार्ने औषधी दिएर ट्रयाक्टरको ट्रलीमा हालेर इँटा भट्टामा बालिएको भट्टीमा जिउँदै हालिदिएको आरोप पीडित परिवारहरुको छ ।

यसैविच, आलमको थुनछेक बहस छठपछि मात्र सुरु हुने भएको छ । गत असोज २६ गते रौतहटस्थित गृहनगर राजपुरबाट गौर आउने क्रममा इद्रिस गेटबाट पक्राउ परेका पूर्वमन्त्रीसमेत रहेका आलमलाई अनुसन्धानको लागि जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरिएको हो । घटना अनुसन्धानको लागि सुरुमा सात दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालयले दोस्रो पटक पाँच दिन र तेस्रो पटक थप आठ दिनको म्याद पाएको छ ।

घटना अनुसन्धानको लागि तेस्रो पटक थपिएको म्याद अगामी शुक्रबार सकिँदैछ । तर, शुक्रबारपछि छठ पर्वको लागि आइतबारसम्म बिदा हुने भएको हुँदा शुक्रबारै एक पटक फेरी म्याद थपकै लागि उनलाई अदालत लग्ने तयारीमा जिल्ला प्रहरी कार्यालय रहेको एक अनुसन्धान अधिकृतले जानकारी दिए ।