जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार ०८:५७

उपनिर्वाचन : भक्तपुरमा नेकपाको उम्मेदवार बन्न १६ जनाको दावेबारी


भक्तपुर, कात्तिक १४

मंसिर १४ को उपनिर्वाचन आउन अब एक महिनामात्र बाँकी रहेको अवस्थामा दलहरुले उम्मेदवार अहिलेसम्म घोषणा गर्न सकेका छैनन् । कुनै पनि ठाउमा दलहरुले आधिकारीक रुपमा उम्मेदवार घोषणा गर्न नसकेका हुन् ।

आकांक्षी अत्याधिक देखिएपछि दलहरुलाई उम्मेदवार छान्न हम्मे हम्मे परेको छ । भक्तपुर क्षेत्र नम्बर १ प्रदेश क को पनि उपनिर्वाचन हुँदैछ। निर्वाचनको लागि नेपाली कांग्रेसमा भन्दा सत्तारुढ नेकपाका आकांक्षी धेरै देखिएका छन् । नेकपामा २२ जनाले आआफ्नो दाबेदारी गरे पनि अहिले १६ जनामा झरेको छ ।

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा सत्तारुढ नेकपाका उम्मेदवार हरिशरण लामिछाने निर्वाचित हुनु भएको थियो । एकवर्षअघि उहाको हृदयाघातका कारण मृत्यु भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । भक्तपुरमा दिवंगत प्रदेश सांसद हरिशरणकी श्रीमती निर्मला लामिछानेले पनि टिकटमा दाबी गर्नुभएको छ । पहिले नेकपाले जितेको र अहिले नेकपा सत्तामा पनि भएकाले पुनः जित्ने सम्भावनाले उम्मेदवारी दाबी गर्नेहरुको संख्या बढेको नेकपाकै नेताहरु बताउँछन् ।

त्यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत नेकपाकै उम्मेदवारले जितेका छन्। त्यस हिसाबले यसपटक निर्वाचन जितिने आँकलन नेकपाका उम्मेदवारले गरेका छन् । नेकपाबाट स्व. हरिशरणकी श्रीमती निर्मलासँगै मोहनवीर श्रेष्ठ, डीपी ढकाल, रमेश बुढाथोकी, शम्भु दाहाल, दामोदर दंगालले टिकटमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । त्यस्तै रामबहादुर श्रेष्ठ, रवि खड्का, ईश्वर खड्का, राष्ट्रशमशेर थापा, सावित्री थापा, सुचित्रा श्रेष्ठ, राजु अधिकारी, राजु सुवेदी, कृष्णराम गेलाल र रामभक्त खत्रीले टिकटमा दाबी गर्नुभएको छ । केन्द्रले तीनजनाको मात्रै नाम सिफारिस गर्न भने पनि नेकपामा उम्मेदवारका आकाक्षी बढि देखिएका छन् ।

यद्यपी नेकपा (नेकपा) भक्तपुरका अध्यक्ष बचन देउजाले टिकटको लागि धेरै आकांक्षी देखिएपनि तीन जनाको मात्र नाम सिफारिस गरिने बताउनु भयो । उहाले जिल्ला कमिटीको बैठक बसेर सहमतिमा तीनजनाको मात्रै नाम सिफारिस गरेर पठाइने बताउनु भयो ।

उम्मेदवारका दाबेदार धेरै अघि सरेपछि देउजासहित चारजना जिल्ला नेतालाई तीनजनाको नाम सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। जसमा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, सहइन्चार्ज एवं चाँगुनारायण नपाका मेयर सोमप्रसाद मिश्र र जिल्ला सचिव डीपी ढकाल रहनु भएको छ ।