जनता टाइम्स

८ बैशाख २०८२, सोमबार ०९:०१

बागमती स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य संस्थाको अनुगमन सुरु


हेटौंडा, बैशाख ८ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमको नेतृत्व टोलीले आइतबार काठमाडौंमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको हो । अस्पतालले २०० शय्याको नवीकरणका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा निर्मित विद्युतीय प्रणालीमार्फत अनुमति नवीकरणका लागि आवेदन परेपछि मन्त्रालयले वैधानिक व्यवस्था, उपचार सेवा, जनशक्ति व्यवस्थापन, स्वास्थ्य प्रयोगशाला, संक्रमण रोकथाम, विपद् व्यवस्थापन लगायतका मापदण्डका आधारमा निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको हालको सेवा, सञ्चालन प्रक्रिया र आगामी विस्तार योजनाबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले २०२५ भित्र नयाँ अत्याधुनिक भवन निर्माण गरी सेवा विस्तार गर्न लागिरहेका र यसले नेपालको निजी स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा अझै थप्ने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले अनुगमन नियमित प्रक्रिया भएको उल्लेख गर्दै भन्नुभयो, ‘स्वास्थ्य संस्थाहरूले निर्धारित मापदण्ड पालना गरेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न यस्ता अनुगमन आवश्यक छन् । नर्भिकले विस्तार योजनामा प्रदेशको स्वास्थ्य नीतिअनुसार काम गरेको देखेर खुशी लागेको छ ।’

टोलीले अस्पतालको भौतिक संरचना, सरसफाइ, बिरामी सेवा प्रणाली तथा स्वास्थ्य सुरक्षा मापदण्डको समेत निरीक्षण गरेको थियो । आधुनिक उपकरण, दक्ष विशेषज्ञ टोली र प्रभावकारी सेवा प्रवाहमार्फत नर्भिकले हरेक वर्ष हजारौं बिरामीलाई सेवा दिँदै आएको कार्यकारी अधिकृत मिश्रले बताउनु भयो । अस्पताल प्रशासनले बागमती प्रदेश सरकारसँगको सहकार्यलाई सकारात्मक भन्दै आगामी दिनहरूमा अझ सस्तो, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

अनुगमनपछि मन्त्रालयले दिएको प्रारम्भिक प्रतिक्रियामा अस्पतालको सेवा मापदण्ड सन्तोषजनक रहेको र अनुमति नवीकरण प्रक्रिया सम्बन्धित प्राविधिक मूल्याङ्कनपछि अगाडि बढाइने मन्त्रालयका प्रवक्ता गेलालले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा मन्त्रालयका प्रवक्ता डा. रविन भुषाल, कानुन अधिकृत जेनिशा चुवान, नर्सिङ अधिकृत स्वेता मानन्धरलगायत सहभागी हुनुहुन्थ्यो ।