जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार ०७:४६

आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला तत्कालिन आईजीपी र डीआईजीले दिए यस्तो बयान


काठमाडौं, कात्तिक १५ । बम विस्फोटका घाइतेलाई जीउदै इट्टा भट्टीमा जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमले घटना भएकै छैन भन्दै गर्दा त्तकालिन तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका छन् ।

आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला उनीहरुले नै रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा त्यतिबेला बम विस्फोट भएको बताएका छन् ।

तत्कालिन आईजीपी राणा र एआईजीबाट अवकाश प्राप्त गौतमले रौतहटको राजपुरमा बम विस्फोट भएको जानकारी त्यतिबेला रौटहट प्रहरीबाट पाएको स्वीकार गर्नुभएको प्रहरीले जनाएको छ ।

बम विस्फोट भएको र इँटाभट्टमा हालेर घाइतेको हत्या गरेको प्रकरणमा आलमलाई पक्राउ गरेर अनुसन्धान गरीरहेको रौतहट प्रहरीले केही दिन अघि राणा र गौतमसँग घरमै गएर बयान लिएको हो । तत्कालीन आईजीपी राणा र एआईजीबाट अवकाश प्राप्त गौतमले रौतहटको राजपुरमा बम विस्फोट भएको जानकारी त्यसबेला रौतहट प्रहरीबाट पाएको स्वीकार गरेका हुन् । हाल उच्च सरकारी वकिलको कार्यालय पर्सा (वीरगन्ज) का प्रमुख रहेका सहन्यायाधिवक्ता ज्ञवालीसँग बिहीबार रौतहट प्रहरीले लिखित बयान लिएको छ । उनी बम विस्फोट हुँदा जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख थिए ।

प्रहरी प्रतिवेदनका आधारमा आफूले मुद्दा नचल्ने निर्णय लिएको र आफू घटनामा के–के भएको भन्नेमा जानकार नभएको ज्ञवालीले जिकिर गरेको उच्च स्रोतको भनाइ छ । प्रहरीले घटनासँग जोडिएका प्रहरी र सरकारी वकिललाई पत्र पठाएर बयानका लागि बोलाएको थियो ।