जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार ०८:०४

सत्तारुढ नेकपाले पठायो कडा सर्कुलर, उपनिर्वाचनमा नखटने र असहयोग गर्नेलाई सिधै निश्काशन


काठमाडौं, कात्तिक १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा नखट्ने र असहयोग गरेको पाइएमा नेता कार्यकर्ता जोसुकै भए पनि कडा कारवाही गर्ने चेतावनी दिएको छ । नेकपा नेकपा प्रदेश ३ कमिटीले उपनिर्वाचनमा खटिने नेतादेखि कार्यकर्तासम्म सवैको अभिलेख राख्नसमेत मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।

नेकपा प्रदेश ३ ले कार्यकर्ताका लागि जारी गरेको सर्कुलरमा निर्वाचन अभियानमा खट्ने कार्यकर्ताको अभिलेख राख्ने र कमिटीले मूल्यांकनको विषय बनाउनुपर्ने निर्देशन दिइएको छ । पार्टीमा कामचोरहरु बढेको र चुनावमा खटिने नेता कार्यकर्ताको कमी हुने देखेपछि नेकपाले यस्तो सर्कुलर पठाएको हो । ‘अभियानमा नखट्ने,पार्टी निर्देशनको अवज्ञा गर्ने र असहयोग गर्ने जो कसैलाई पनि पार्टीले छुट दिनेछैन । कडा कारबाहीको विषय बन्नेछ,’ नेकपाको सुर्कुलरमा भनिएको छ । पार्टीभित्रका आन्तरिक मनमुटाव र असमझदारीका विषयहरु भए तत्काल समाधान गर्न र तत्काल समाधान हुन नसक्ने कुनै विषय बाँकी रहेमा निर्वाचन अवधिभर चर्चा गर्न नपाईने निर्देशनसमेत दिइएको छ ।

नेकपाले उपनिर्वाचनका बेला सरकार, पार्टी र नेतृत्वबारेमा नकारात्मक टिप्पणी गर्नसमेत रोक लगाएको छ । बिरोधीले नकारात्मक टिप्पणी गरेमा तत्काल प्रतिवाद गर्नसमेत कार्यकर्तालाई निर्देशन दिइएको छ । सर्कुलरमा उपनिर्वाचनका बेला पार्टी सदस्य, समर्थक र सहयोगीहरुबाट चन्दा उठाइ निर्वाचन खर्चको बन्दोबस्न गर्नुपर्ने र बिगतको अनुभवलाई समेत ध्यानमा राखेर खर्चमा मितव्ययतिता अपनाउन भनिएको छ ।

प्रदेश ३ अन्तर्गत भक्तपुरमा प्रदेशसभा र रामेछापको उमाकुण्ड गाउँपालिका, काठमाडौंको दक्षिणकाली र चितवनका खैरहनीका दुई तथा भरतपुर महानगरपालिकाको एक वडामा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन मिनी जनमत संग्रहसमेत भएकाले पार्टीले यो अभियानमा सबै कार्यकर्तालाई एकजुट भएर होमिन निर्देशन दिएको प्रदेश ३ का सचिव तथा नेकपाका केन्द्रीय सदस्य आनन्द पोखरेलले बताउनुभयो ।

निर्वाचनको बेला दायाँबायाँ गर्ने नेता कार्यकर्ता जो भए पनि मुख नहेरी कठोर कारबाही गर्ने निर्णय लिइएको जानकारी पनि पोखरेलले दिनुभयो । पोखरेलका अनुसार बिहिबार बसेको प्रदेश कमिटी सचिवालय बैठकले निर्वाचन परिचालन तथा तयारी समिति समेत गठन गरेको छ । उपनिर्वाचनको कामलाई व्यवस्थित गर्न गठित सचिवालयमा प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव पोखरेलसहित कृष्ण राई, रुकु चौलागाई, यमवहादुर परियार, बचन देउजा र डिपी ढकाल हुनुहुन्छ । प्रदेश ३ मा उपनिर्वाचन हुन लागेकामध्ये खैरहनी नगरपालिकाका दुई वडा बाहेक अरु सबै ठाउँमा बिगतमा तत्कालीन एमालेका उम्मेदवार बिजयी बनेका थिए ।