काठमाडौं, बैशाख ११ । युवा चिकित्सक डाक्टर आनन्द सिंहले नेपालमा केही भएको छैन भन्नेलाई उदाहरणसहित जवाफ दिनुभएको छ ।
लोकतन्त्र दिवसको अवसरमा बहिबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै सिंहले एउटा दुर्गम गाउँमा जन्मिएको सामान्य परिवारको मानिसले राजधानीको भव्य मञ्चमा बोल्न पाउनु लोकतन्त्रको सुन्दरता भएको बताउनुभयो । लोकतन्त्र सुन्दर छ, यो मैले मान्नु पर्छ, तपाईँले मान्नु पर्छ, सबैले मान्नु पर्छ’, उहाँले भन्नुभयो ।
फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कारका नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको उहाँले बताउनुभयो । एकता सधैँ कायम हुँदा मात्र देश बन्ने उहाँले बताउनुभयो । एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनु पर्ने उहाँको धारणा छ ।
संविधान निर्माण भइसकेपछि नेपालले निक्कै प्रगति गरेको उहाँले बताउनुभयो । एक दशकमा नेपालमा उल्लेखनीय काम भएको उहाँको ठम्याई छ । राष्ट्र निर्माणको कामलाई अझै गुणात्मक रूपमा अघि बढाउन आवश्यक रहेको बताउँदै उहाँले यसमा युवा सहभागिता आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
‘युवाको सही परिचालन हुन आवश्यक छ, सानो भन्दा सानो काम गरेर युवा आत्मनिर्भर बन्नु पर्दछ’, उहाँले भन्नुभयो ।
सिंहले युवालाई निराश नहुन आग्रह गर्दै नेपालमा धेरै अवसरका बाटोहरू खुल्दै गएका बताउनुभयो । नेपाली कलेजहरूमा विदेशीहरू समेत अध्ययन र तालिमका लागि आउने गरेका उहाँले सुनाउनुभयो । यो नेपालको ठुलो उपलब्ध भएको सिंहको धारणा छ । स्वास्थ्य बिमा विश्वका थोरै राष्ट्रले गरेको लोककल्याणकारी काम नेपालमा भइरहेको उहाँको भनाइ छ ।
नेपाल अब सुरुङ युवामा प्रवेश गरेको भन्दै उहाँले यसले समृद्धिको आधार तयार गरेको बताउनुभयो । धेरै विकसित देश भन्दा नेपाल पछाडि रहेको स्विकार्नु पर्ने बताउँदै उहाँले नेपालले सार्वभौमसत्ताको प्रयोग नै २ सय वर्षभन्दा पछि गरेको कारण यो अवस्था आएको सिंहले बताउनुभयो ।
युवाले सकारात्मक सोच राख्नु पर्ने बताउँदै उहाँले युवा सकारात्मक सोका साथ अघि बढ्ने हो भने देश सही दिशामा अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्