जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार १५:३४

सत्तारुढ नेकपाले गर्यो धरानको मेयरमा तीन जनाको नाम सिफारिश, छुट्यो जित्ने भन्दै चर्चामा आएका नेताको नाम


सुनसरी, कात्तिक १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा धरान उपमहानगरपालिका प्रमुखको तीनजनाको नाम सिफारिस गरेको छ । आज बसेको नेकपा उपमहानगर कमिटीको पूर्ण बैठकले जिल्ला सदस्य तथा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) र जिल्ला सदस्य वेणु काफ्लेको नाम मेयरका लागि सिफारिस गरेको हो ।

अन्य दलहरुले उम्मेदवार टुंगो लगाई चुनावी अभियानमा होमिसक्दा पनि नेकपामा भने उम्मेदवार छनोटमै अल्झिरहेको छ । कात्तिक १४ गते बिहिबार नगर कमिटीको सचिवालय बैठकले उम्मेदवारको सिफारिस गर्ने भनिए पनि सचिवलयको वैधतामाथि प्रश्न उठेपछि बैठक नै बस्न सकेन । सिफारिस गरिएको नाम जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेर टुङ्गो लाग्ने छ । नेकपा केन्द्रीय कमिटीले कात्तिक १० गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिए पनि धरान उपमहानगरमा आकांक्षी धेरै भएकाले उम्मेदवारको टुङ्गो लगाउन नेकपालाई निकै ठुलो सकस परेको थियो ।

धरानमा चुनाव जित्ने भनिएका नेताहरुको नाम भने सिफारिशमा अटाउन सकेन । उपमहानगर कमिटीले नेताहरुको नाममा कैची चलाएको हो । धरान उपमहानगरको प्रमुख पदमा केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार मेयाङबो, आइन्द्रविक्रम बेघा, जिल्ला सदस्य प्रकाश राई, पदम इम्बो, तीर्थ मास्के, (चोत्लुङ) लगायत एक दर्जनभन्दा बढीको नाम आएको थियो ।