जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार १५:५९

नेकपा प्रदेश-३ ले गर्यो भक्तपुर प्रदेशसभामा चार जनाको नाम सिफारिश, बागी उम्मेद्वार पनि परे सिफारिशमा


भक्तपुर, कात्तिक १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भक्तपुर क्षेत्र नम्बर एकको प्रदेशसभा ‘क’ मा चार जनाको नाम सिफारिश गरेको छ । नेकपा प्रदेश नम्बर ३ कमिटीले जिल्ला कमिटी भक्तपुरले सिफारिश गरेको तीन जनासहित एक महिला नेतृको नाम थप गरी केन्द्रमा नाम सिफारिश गरेको हो ।

प्रदेश ३ का सचिव आनन्दप्रसाद पोखरेलले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार प्रदेशसभा सदस्यका लागि रमेश बुढाथोकी, डीपी ढकाल, मोहनबीर श्रेष्ठ र नारायणी फूँयालको नाम सिफारिश गरिएको छ । भक्तपुर–१ स्थित प्रदेशसभा ‘क’ मा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नम्बर १० पर्दछ । निर्वाचन क्षेत्रअनुसार सिफारिशमा पहिलो नम्बरमा बुढाथोकी राखिएको छ । निर्वाचन क्षेत्रकै लोकप्रिय नेता रहनुभएका बुढाथोकीलाई जिल्ला कमिटी र प्रदेश कमिटीले पहिलो नम्बरमा सिफारिश गरेको हो ।

यस्तै दोस्रोमा ढकालको नाम सिफारिश गरिएको छ । उम्मेद्वार सिफारिशमा पर्नुभएका ढकाल गत निर्वाचनमा सोही क्षेत्रमा बागी उम्मेद्वार बन्नुभएको थियो । पार्टी निर्णयबिपरित उम्मेद्वारी दिएपछि ढकाललाई फिर्ता लिन पार्टीले निर्देशन दिएपनि कानुनी रुपमा संभव नभएपछि उहाँ उम्मेद्वार नै कायम रहनुभएको थियो । सो निर्वाचनमा ढकालले करिव ८ सय मत प्राप्त गर्नुभएको थियो ।