जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार ०८:४०

३१ जडीबुटीमा लगाएको प्रतिबन्ध भारतद्वारा फुकुवा


नेपालगञ्ज, कात्तिक १६

भारतले गत वर्षदेखि विभिन्न प्रकारका महìवपूर्ण जडीबुटीको निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । सबैभन्दा बढी भारत निकासी हुने ३१ प्रकारका जडीबुटीमाथि लगाइएको प्रतिबन्ध हटाएपछि अब फेरि पहिलेझैं निकासी सुरु हुने व्यवसायीहरूले जनाएका छन् ।

भारत सरकारले अक्टुवर १ मा भारतीय राजपत्रमा सूचना प्रकाशित गरेर जडीबुटी निकासीमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी गराएकोले अब फेरि पहिलेझैं जडीबुटी व्यवसाय फस्टाउने नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । नेपालबाट निकासी हुने ३१ प्रकारका जडीबुटीलाई भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश गरिएकोले नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया सुरु गरिएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो ।

उहाँले भारतमा सबैभन्दा बढी निकासी हुँदै आएका रिठा, कुट्की, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायतमा लगाइएको प्रतिबन्ध हटाएपछि नेपालबाट यी चिजहरू निर्यात हुने उहाँले बताउनुभयो ।

लामो समयको माग र प्रयासपछि भारत सरकारले राजपत्रमा सूचना जारी गरेर प्रतिबन्ध हटाएको जानकारी गराए पनि अझै केही जडीबुटीको प्रतिबन्ध फुकुवा नगरिएको अध्यक्ष अन्सारीले बताउनुभयो । भारत सरकारले प्रतिबन्ध हटाएपछि स्थानीय व्यवसायीहरू खुसी भएका छन् । निकासी बन्द गरिँदा आफ्नो गोदाममा ठूलो परिमाणको जडीबुटी थन्किएको गुनासो गर्दै व्यवसायी सकील अहमद जसगढले निकासी सुरु भएको सुन्दा खुसी लागेको बताउनुभयो ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार सबैभन्दा बढी जडीबुटी भारत तथा तेस्रो देशमा निकासी हुने नाका नेपालगञ्ज नै हो । केही वर्ष पहिलेसम्म यो नाकाबाट बर्र्सेनि ७० लाख किलोसम्म जडीबुटी निकासी हुने गरेकोमा हाल आएर एक लाख किलो पुग्न पनि धौ धौ भएको थियो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि जडीबुटीको निकासीमा लगाइएको अवरोध हटेकोमा खुसी व्यक्त गरेको छ । सङ्घका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज नाकाबाट फेरि पहिलेझैं निकासी सुचारु भएमा आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

नेपाल र भारतका प्लान्ट क्वारेन्टाइनका उच्च अधिकारीबीच काठमाडौँमा गत भदौमा भएको बैठकमा भारतीय क्वारेन्टाइनले सूचीकृत नगरेका जडीबुटीमध्ये ३१ प्रकारका जडीबुटीलाई तत्काल सूचीकृत गरिने सहमति भएको थियो । सोही सहमतिबमोजिम भारत निकासी हुने जडीबुटीहरूलाई सूचीकृत गरिएको सङ्घले जनाएको छ ।