जनता टाइम्स

१७ बैशाख २०८२, बुधबार २०:१९

कुखुराको निहुँमा छोराले हाने बुबालाई गोली


काठमाडौं,१७ वैशाख ।  मकवानपुरमा एक युवकले आफ्नै बुबामाथि गोली प्रहार गरेका छन् । प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका(९ अघोरका ५९ वर्षीय कान्छाराम थिङलाई बुधबार उनकै छोरा ३५ वर्षीय इमानसिंह थिङले गोली प्रहार गरेका हुन् । छोरा इमानले भरुवा बन्दुकले गोली प्रहार गर्दा बुबा कान्छाराम घाइते भएका छन् । प्रहरीका अनुसार बाबु र छोरा अलगअलग बस्दै आए पनि उनीहरूले प्रयोग गर्ने आँगन साझा थियो ।बुबामाथि गोलो हान्ने इमानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

उनले अनुमति विना उक्त बन्दुक राखेको पाइएको छ । प्रहरीका अनुसार कान्छारामको बायाँ खुट्टाको तिख्रा र दाहिने हातमा गोलीको छर्रा लागेको छ । उनको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि हेटौंडा लगिएको प्रहरीले जनाएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कुखुरा आँगनमा आएको विषयमा बाबु–छोराबीच विवाद हुँदा बुबामाथि छोराले गोली हानेको देखिन्छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तबहादुर श्रेष्ठको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।