जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १२:३१

रुपनीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २० घाइते


राजविराज, कात्तिक १६

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् । सो दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तीलक भारतीले जानकारी दिनुभयो ।

दुर्घटनापछि गम्भीर घाइते भएको न्यौपानेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइए पनि उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुपनी र जिल्ला प्रहरी कार्यालय सप्तरी तथा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरीको टोली घाइतको उद्धारमा खटिएको थियो ।

काँकडभिट्टाबाट पश्चिम भैरहवातर्फ जाँदै गरेको लु१ख ८२१४ नंको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना८ ख ५९०३ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । दुर्घटनाका कारण भने खेलेको छैन ।