जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार १६:५८

सामाजिक सञ्जालमा केपी ओलीलाई गाली गर्नेहरूको भविष्य अन्धकार हुन्छः प्रधानमन्त्री पत्नी शाक्य


काठमाडौं, २१ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफ्ना श्रीमान् विरुद्ध सामाजिक सञ्जालमा आइरहेका गालीगलौज प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । शनिबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सामाजिक सञ्जालले नकारात्मकतातिर डोर्‍याइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । त्यो डोर्‍याइको (सामाजिक सञ्जालको नकारात्मकता) करिब–करिब धेरै भाग त हाम्रो केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन, उहाँले भन्नुभयो , हामी कति नै बाँच्छौँ अब ? हामी भनेको उत्तरार्धतिर पुगिसकेका मान्छे हौँ ।

आफूहरू हिजो पञ्चायतको दमन त सहँदै आएको उल्लेख गर्दै उहाँले अहिलेको खुल्ला वातावरणमा सामाजिक सञ्जालमा आउने गालीगलौज सहन सक्ने बताउनुभयो । तर, जो जो मान्छेले आज केपी ओलीलाई गिज्याउन पाएँ र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुसी भइ राख्नु भएको छ नि, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ, शाक्यले अगाडि भन्नुभयो, उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ । हामीलाई त केही हुनेवाला छैन ।

यस किसिमको नकारात्मक आलोचना सहनु नौलो नभएको उहाँको भनाई थियो । उहाँहरूलाई लाग्ला हामीले यस्तो भनेपनि यिनीहरूलाई टेन्सन हुन्छ होला, के के हुन्छ होला भन्ने लाग्छ होला । तर हामीलाई टेन्सन पनि हुन्न । किन भने हामीले कुनै काम बिराएको छैनौँ, कुनै नराम्रो काम गरेका छैनौँ । देशविरुद्धको कुनै काम गरेको छैन भने किन टेन्सन लिने ? प्रधानमन्त्री पत्नीले भन्नुभयो । उहाँका अनुसार यस किसिमको नकारात्मकताको असर अहिलेका युवा पुस्तालाई नै पर्नेछ । यसरी आफ्नो भविष्य बिग्रिने र सन्तानको भविष्य बिग्रिने कामहरू कम्तीमा अलिकति पढेलेखेका बुद्धिजीवी भन्ने मान्छेहरूले आजैका दिनदेखि छोड्नुपर्ने उहाँको आग्रह थियो ।

आज मैले यति बोलेँ, भरेदेखि अहो, बुढा कस्तो छ बुढी पनि उस्तै रैछ कि भनेर मलाई गाली गर्नुसम्मको कमेन्टहरू आउँछन् । थाहा छ मलाई, उहाँले भन्नुभयो ूतर, मैले यहाँ नराम्रो केही गरेजस्तो लाग्दैन । मान्छेहरूलाई कति एकोहोरो भएका हुन् ? सही के हो थाहा छैन, गलत के हो पनि थाहा छैन । हाहा र हुहु गर्दै जीवन बिताइ राखेका छन् । यस किसिमको प्रवृत्तिले आफ्नै जीवन बर्बाद पार्ने उल्लेख गर्दै शाक्यले आजका युवाहरूको यो प्रवृत्तिले भोलि हाम्रो देश कस्तो होला भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।