जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १४:१८

बनेपामा जापानी प्रविधिबाट फोहर व्यवस्थापन


काभ्रे, कात्तिक १६

बनेपा नगरपालिकाले जापानी प्रविधिबाट धुवाँरहित मेशिनमार्फत फोहरमैला व्यवस्थापन गर्ने भएको छ । यसका लागि कार्यालयले जापानी प्रविधिको ‘हिटा’ नामक कम्पनीको धुवाँरहित चिम्नी (एफ वान मोडल) ल्याइसकेको छ । कार्यालयले फोहर जलाउने मेशिन वडा नं ९ स्थित कृषि फार्ममा राख्ने जनाएको छ ।

“बनेपाको प्रमुख चुनौती बन्दै आएको फोहर व्यवस्थापन मेशिन सञ्चालनपछि हल हुनेछ तर उक्त मेशिनबाट मानव स्वास्थ्यमा असर परे वैकल्पिक स्थानमा राख्नेछौँ”, नगर उपप्रमुख रेखा दाहालले भन्नुभयो । उहाँका अनुसार चिम्नीका विषयमा सरोकारवालालाई जानकारीसमेत गराइएको छ । बनेपा नपामा उपप्रमुखको नेतृत्वमा फोहरमैला व्यवस्थापन समिति गठन गरिएको छ ।

करीब एक वर्षदेखि बनेपा नगर क्षेत्रको फोहर सिस्डोल पुर्याइँदै आइएको छ । यसअघि नियमित फोहर विसर्जनस्थलमा स्थानीयले विरोध गरेपछि नगरपालिका कार्यालयले नयाँ प्रविधिको खोजी गरेको नगरप्रमुख लक्ष्मी नरसिंह वादेले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको फोहर सिस्डोल पुर्याउन निकै खर्च व्यहोरिरहेका छौँ, अब नयाँ मेशिन राखेपछि वातावरणलाई पनि असर नपुग्ने र खर्चमा पनि कटौती हुनेछ ।”

उहाँका अनुसार फोहर व्यवस्थापनकै लागि नगरको १२ र १४ नं वडाको सिमानामा १४ रोपनी जमीन खरीद गरेको र थप लिने तयारी भइरहेको छ । मेशिनमा फलाम र सिसाका टुक्राबाहेक सबै किसिमका फोहर जलाउन सकिने हिटा ग्रुप नेपालका प्रमुख ग्याल्पो लामाले बताउनुभयो । ‘‘प्रदूषण, धुँवा र ध्वनीरहीत तरिकाले फोहोरलाई जलाउन सकिन्छ’’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार मेशिनले प्रतिघण्टा ३० देखि ४० किलोसम्म फोहोर जलान सक्छ । बनेपा नगरबाट प्रतिदिन सातदेखि आठ टनसम्म फोहोर निस्कने गर्दछ । हाल ल्याइएको उक्त मेशिनले नगरको फोहर जलाउन नभ्याउने देखिए ठूलो क्षमताको मेशिन ल्याइने नगरप्रमुख वादेले बताउनुभयो । “अबको केही दिनमै मेशिन परीक्षण गरी नियमित फोहर जलाउन शुरु गर्नेछौँ”, उहाँले भन्नुभयो ।

मेशिन सञ्चालन गर्न डिजेल, विद्युत् र पानी एकैसाथ प्रयोग गर्नुपर्ने हुन्छ भने विद्युत् नभएका बेला मेशिनकै ब्याकअपबाट सञ्चालन गर्न सकिनेछ । मेशिनमा जलेको फोहरको खरानीबाट ब्लक तथा टायर निर्माण र तरकारी खेतीका लागि प्रयोग गर्न सकिने लामाले बताउनुभयो ।