गोरखा, कात्तिक १६
भीमसेन थापा गाउँपालिका–६ अश्राङकी सीता लम्साललाई बचाउन जापानमा रहेका यहाँका युवाले रु एक लाख ५० हजार सहयोग प्रदान गरेका छन् । दुवै मिर्गौला फेल भएकी लम्सालको उपचारका लागि आर्थिक अभाव भएपछि जापानमा रहेका गोर्खाली युवाहरुले आर्थिक सङ्कलन गरी उक्त रकम पीडित परिवारलाई प्रदान गरेको हो ।
गोरखा समाज जापानको अगुवाइमा सङ्कलन भएको रु डेढ लाख गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेमार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको नेपाल कतार सेवा समाज नेपालका अध्यक्षा कैलाशबाबु श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष पाण्डेले लम्साललाई गाउँपालिकाका तर्फबाट पनि सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।
लम्सालको मिर्गौला डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नु परेको छोरी अम्बिकाले बताउनुभयो । गत जेठ महीनादेखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि अस्पताल भर्ना हुनुभएकी लम्सालको उपचारमा आर्थिक अभाव हुँदै आएको छ । “भएको सबै रकम सकिसक्यो, अहिलेसम्ममा रु १० लाखभन्दा बढी खर्च हुँदा पनि आमालाई निको भएको छैन, थप उपचारका लागि पैसा समस्या छ”, अम्बिकाले भन्नुभयो ।
जेठमा दुवै मिर्गौला फेल भएपछि उहाँको शुरुमा काठमाडाँैस्थित मनमोहन अस्पतालमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि भारत लगिएको थियो । भारतमा दुई महीना राख्दा भएको रकम सकिएपछि पैसाको अभावमा नेपाल फर्काइएको छोरी अम्बिकाले जानकारी दिनुभयो ।
लम्सालको शारीरिक अवस्था नाजुक भएपछि हाल पोखरास्थित फिस्टेल अस्पताल राखिएको छ । गोरखाका विभिन्न पालिकामा घर भई हाल जापानमा रहेका युवाहरुको सक्रियतामा केही वर्षअघि स्थापना भएको समाजले आर्थिक कारणले उपचारमा समस्या रहेका विपन्नहरुलाई विभिन्न अभियान सञ्चालन गरेर सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्