जनता टाइम्स

२३ बैशाख २०८२, मंगलवार १४:०३

बद्रीनारायण धामलाई सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता


काठमाडौं, बैशाख २२ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बद्रीनारायण धामको मंगलवार अवलोकन गरेपछि मन्त्री सिंहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ‘बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको थियो, यसलाई निरन्तरता दिन ध्यान दिनेछु, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

समाजका हरेक व्यक्तिले बद्रीनारायण धामको विकास र विस्तारमा लाग्नुपर्ने उहाँको भनाइ थियो । धाम निर्माणको कामलाई पूर्णता दिन सबै आ–आफ्नो क्षेत्रबाट लाग्नसमेत उहाँले आग्रह गर्नुभयो ।

समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ थियो । धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।