जनता टाइम्स

२३ बैशाख २०८२, मंगलवार २१:०७

युवा संघको महाधिवेशन : समृद्ध नेपाल र सुखी नेपालीको यात्रा पार गराउने सङ्कल्पसहित यस्ता छन दशाैं महाधिवेशनका एजेण्डा


पोखरा, बैशाख २३ । राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन ९ देखि ११ गतेसम्म पोखरामा हुँदै छ ।

महाधिवेशनको बारेमा जानकारी दिन मंगलबार पोखरामा पत्रकार सम्मेलन वितरण गरिएको प्रेस विज्ञप्तिमा संघको दशौं महाधिवेशनलाई सबैले महत्वका साथ नियालिरहेको उल्लेख छ । संगठनले समाजको आगामी दिनको दिशा र बाटो बदलिएको छ जनाएको छ ।

‘अबको बाटो कुर्बानीको मात्रै होइन नव निर्माणको हुनेछ, जुन बाटोमा सफल यात्रीको रूपमा हामी युवाहरूले अभियन्ता भई यात्रा पार गर्नै पर्नेछ, त्यो भनेको समृद्ध नेपाल र सुखी नेपालीको यात्रा हो, यो यात्रालाई सफलतापूर्वक पार गराउने कर्तव्य अब हामी युवाहरूको काँधमा आएको छ, जसको नेतृत्व राष्ट्रिय युवा संघले गर्नुपर्नेछ, जुन कुरा संघले यस दशौँ महाधिवेशनबाट सङ्कल्प गर्नुपर्नेछ’, विज्ञप्तिमा लेखिएको छ ।

नेपालमा युवा जनसङ्ख्याको आजको चरणलाई जनसाङ्ख्यिक लाभांशको अवसर भनिएको छ । नेपालको कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत युवाको जनसङ्ख्या रहेको छ । नेपालमा क्रियाशील जनसङ्ख्याको आकार हेर्दा अहिलेको अवस्थालाई जनसाङ्ख्यिक लाभांशको अवस्था भनिएको हो । ‘अबको करिब २० वर्षपछि हामी बुढ्यौली समाज बन्दै छौँ, त्यसपछि कुल जनसङ्ख्याको ७ प्रतिशत ६५ वर्षभन्दा बढी उमेरका हुनेछन्’, विज्ञप्तिमा लेखिएको छ ।

जनसाङ्ख्यिक लाभांश लिने हो भने युवाहरूलाई दक्ष र उद्यमशील बनाउनु पर्ने संगठनको निष्कर्ष छ । युवाहरूले मागे अनुसारको सीप र दक्षता प्रदान गर्नु हरेक राज्य संयन्त्रको प्रमुख कर्तव्य मध्ये एक भएको विज्ञप्तिमा उल्लेख छ ।

‘जनसाङ्ख्यिक लाभांशलाई प्रयोग गर्ने हो भने नेपालले सजिलै उच्च आर्थिक वृद्धिदरलाई हासिल गर्न सक्दछ तर, यो अवस्था कतै खेर जाने त होइन भन्ने आशङ्का बढिरहेको छ, यस परिस्थितिमा युवाहरूको सर्वाङ्गीण विकासमा सम्पूर्ण राज्य संरचना परिचालिन हुनु पर्ने देखिन्छ, त्यस तर्फ युवा आन्दोलन निर्देशित हुनु पर्ने देखिन्छ, यसै कुरा हृदयङ्गम गरेर संघको दशौँ महाधिवेशन कार्यनीति र कार्यभार निर्माण गर्ने थलोको रूपमा स्थापित गरिने छ’, विज्ञप्तिमा लेखिएको छ ।

प्रविधिको विकासले ल्याएको परिवर्तनले नेपाली समाजको सामाजिक, सांस्कृतिक सम्बन्धमा समेत व्यापक फेरबदल ल्याइरहेको जनाइएको छ । राजनीतिक अस्थिरताले देशमा दिगो विकास लक्ष्यलाई प्रत्यक्ष प्रभाव पारिराखेको विज्ञप्तिमा उल्लेख छ ।

‘समृद्धिको यात्रामा ठेस लागिरहेको छ, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई अझ झरिलो बलियो बनाउनु पर्ने छ, जलवायु परिवर्तनले देखा परेका समस्याहरूले सिङ्गो मानव जातिको भविष्यप्रति चिन्ता जगाइरहेको छ, युवाहरूमा बढ्दो निराशा र विदेश पलायनलाई रोक्नुपर्ने छ भने उद्यमशीलता, रोजगारी र स्वरोजगारीको सुनिश्चित गर्नुपर्ने छ, यी यावत विषयमा संघको दशौं महाधिवेशनले दिशा निर्देश गर्ने छ’, विज्ञप्तिमा लेखिएको छ ।

संगठनको दशौँ महाधिवेशन नेपाली युवा आन्दोलनको नयाँ पानीढलोको रूपमा रहने संगठनले दाबी गरेको छ । ‘महाधिवेशन भव्य, व्यापक र सभ्य रूपमा सम्पन्न गर्न देशभरिबाट करिब २ हजार जना प्रतिनिधिको उपस्थिति रहनेछ भने उद्घाटन सत्रमा हजारौँ जनसमुदायको उपस्थितिमा नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता रहनेछ, महाधिवेशन तयारीका लागि प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन र कार्यक्रम स्थलको व्यवस्थापन लगायतका कार्यहरू तीव्र रूपमा भइरहेका छन्’, विज्ञप्तिमा लेखिएको छ ।