काठमाडौं, २९ वैशाख । विगत डेढ महिनादेखि राजा (नाम परिवर्तन) सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत् सक्रिया खनियाँ नाम गरेकी युवतीसँग सम्पर्कमा थिए । काठमाडौंको टोखा बस्ने गरेको बताउने सक्रियाले सुरुमा ‘आफू राम्रो युवकको खोजीमा’ रहेको बताएकी थिइन् ।
उनीहरूबीच दिन प्रतिदिन अन्तरंग कुराकानी चल्न थाल्यो । सञ्जालबाटै भर्चुअल रुपमा माया–प्रेमको कुराकानीहरू हुन थाल्यो । कुराकानीकै सिलसिलामा प्रत्यक्ष भेटघाट गर्ने सहमति जुट्यो । विशेषगरी युवतीको अनुरोधपछि राजा सक्रियालाई भेट्न तयार भए ।
त्यसपछि काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीस्थित एक होटलमा उनीहरूबीच भेटघाट गर्ने निधो भयो । सहमति अनुसार, सविन आफ्ना साथी लिएर गत शनिबार (२७ वैशाख) उक्त होटलमा पुगे । उता पूर्वयोजनाअनुसार सक्रिया पनि कविता राई नाम गरेकी अर्की युवती लिएर
होटलमा पुगिसकेका थिए । प्रहरी अनुसन्धानका अनुसार, उनीहरू होटलको ४०२ नम्बर कोठामा भेला भए । केहीबेरमा होटलको ढोकामा केही व्यक्तिले ढकढक्याए । ‘आफूहरू प्रहरी’ भन्दै ढक–ढक गरेपछि युवतीहरूले ढोका खोलिदिए । ती युवाहरू प्रहरी भन्दै भित्र प्रवेश गरे । लगत्तै उनीहरूले डरत्रास देखाउन थालेको सविनले प्रहरीसमक्ष बताएका छन् ।
जेलभित्रै फसाइदिनेसम्मका धम्की दिए । सादा पोशाकको प्रहरी भएको उनीहरूले बताए । मोबाइलमा जुवासम्बन्धी एप डाउनलोड भएकाले जुवामा समेत फसाउने उक्त गिरोहले डर देखायो । राजाको २६ वैशाखमा मात्रै अमेरिकाको भिसा लागेको थियो । अमेरिकाको भिसा लागेको भोलिपल्टै राजा समस्यामा परे । आफ्नो अमेरिका यात्रासमेत रोकिनसक्ने सोचेर राजा रकम हाल्न तयार भए । मोबाइल वालेटबाट आफूसँग भएको ३ लाख ६३ हजार रुपैयाँ यो गिरोहको खातामा ट्रान्सफर गरे ।
त्यहाँबाट उम्किएपछि सविनलाई घटनाबारे शंका लाग्यो । लगत्तै, उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । उजुरीपछिको अनुसन्धानका क्रममा प्रहरीले दुई महिलासहित ८ जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई हिजो (आइतबार) प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूबाट प्रहरीले ९ थान मोबाइल, रोयल इन्फिल्ड मोटरसाइकल, नगद ५२ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासीको गैंडाकोट नगरपालिका–२ घर भइ काठमाडौं ठमेल बस्ने २४ वर्षीय अनिश केसी, चितवनको भरतपुर महानगरपालिका–१८ घर भई ठमेल नै बस्ने २५ वर्षीय अतित क्षेत्री, भरतपुर महानगरपालिका–१९ घर भइ ठमेल नै बस्ने २४ वर्षीय सन्दिप विक, नवलपुर दिपचुली नगरपालिका–१६ घर भई ठमेल नै बस्ने २३ वर्षीय सन्दिप परियार, नवलपुर गैंडाकोट नगरपालिका–११ हर्कपुर घर भई ठमेल बस्ने २५ वर्षीय दिप्सन भनिने विवेक मल्ल ठकुरी, भरतपुर महानरपालिका–१० घर भई ठमेल बस्ने २२ वर्षीय बादल तामाङ, लमजुङको उदिपुर नगरपालिका–२ घर भइ टोखा बस्ने १९ वर्षीया सक्रिया खनिया र सुनसरीको धरान उपमहानरपालिका–१७ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीया कविता राई छन् ।
प्रहरीको अनुसन्धानका अनुसार, विक र मल्ल ठकुरी मुख्य नाइके हुन् । उनीहरूकै योजना अनुसार अन्य उक्त कार्यमा सरिक भएका थिए ।सन्दिप विक र विवेक मल्ल ठकुरी, जो यो घटनाका मुख्य नाइके रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तीमध्ये सक्रिया र कविता युवकलाई हनीट्रयापमा पार्न प्रयोग भएका युवतीहरू रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिनुभयो ।।
राजाको इन्स्टाग्राममा सक्रियासँग कुराकानी भएको थियो । उनैले भेट्न बोलाउँदै आफू साथी लिएर आउने बताएका थिए । त्यसपछि सविन पनि साथी लिएर होटलमा पुगेका थिए । हनीट्रयापमा पारेर बोलाएपछि पूर्वयोजनाअनुसार युवकलाई बोलाएर ‘प्रहरी भन्दै’ थर्काएर रकम असुलेको पाइएको हो ।
सविनले प्रहरीलाई दिएको बयान अनुसार, उनले ३ लाख मोबाइल वालेटबाट ट्रान्सफर गरेका थिए । बाँकी ६३ हजार रकम भने नगद दिएको अनुसन्धानबाट खुलेको छ ।
पूर्वयोजनाअनुसार काम सकिएपछि युवायुवतीसँगै होटलबाट निस्केका थिए । पक्राउ परेकाहरूबाट प्रहरीले ९ थान मोबाइल, रोयल इन्फिल्ड मोटरसाइकल, नगद ५२ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरूलाई डाँका चोरी मुद्दामा थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्