जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार ११:१०

खसी मागेको आरोप लगाइएका डिएसपी र बरामद गरेको हतियारबारे छानविन गर्न समिति गठन


नेपालगञ्ज, कात्तिक १७

खसी मागेर विवादमा तानिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि छानविन समिति गठन भएको छ । प्रहरी आचरण उल्लंघन गरेको हुन सक्ने आशंकामा पाँच सदस्यीय छानबिन टोली गठन भएको हो ।

शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहका अनुसार आइतबार गठन भएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन दिन समय दिइएको छ ।

बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज–२० स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई हतियारसहित पक्राउ गरेको थियो । पक्राउ परेको हतियार डिएसपी आफैंले राखेको भन्ने आरोप लागेपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो ।

यसैगरी शाहीले नै अहिले पक्राउ परेको टोलीसँग दशैमा खसी मागेको भनेर अडियो टेप समेत सार्वजनिक भएको छ । सो को विषयमा पनि समितिले छानविन गर्ने बताइएको छ । तर, हतियार बरामद भएपछि मात्र उक्त अडियो आउनुचाहिँ ‘नियतवश’ रहेको डिआइजी शाहीले बताउनु भयो । ‘डिएसपीले के कसो माग गरेको हो भन्नेबारे जिल्ला प्रहरी प्रमुख नभए मलाई पहिले नै किन भनिएन र अहिले हतियार बरामद भएपछि मात्र अडियो बाहिर निकालियो भन्नेमा ‘नियत’ देखिन्छ,’ शाहले भन्नुभयो, ‘पहिले भनेको भए हामी कारबाही गरिहाल्थ्यौं।’

शाहका अनुसार नमस्ते रिसोर्टमा तरूण दल अध्यक्ष शाहसहितको टोली छिर्दा गाडीमा हतियार रहेको सूचना आएको थियो। त्यो सूचना पहिले बाँकेका प्रहरी उपरीक्षकलाई आएर उनले शाहीलाई त्यहाँ खटाएका थिए। ‘गाडीभित्र हतियार फेला परेको हो, प्रहरीले त्यहाँ इमान्दारीपूर्वक काम गरेको छ, बाहिरबाट हतियार ल्याएर राख्ने अवस्थै थिएन, घटनास्थलको सबै सिसिटिभी फुटेज हामीसँग छ,’ डिआइजी शाहले भन्नुभयो । प्रहरीले आचरणविपरीत काम गरेको र हतियार बरामद भएको घटना अलग भएकाले यसमा ‘राजनीति’ गर्न नहुने शाहको भनाइ छ ।