जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १२:३२

ज्यान मार्ने धम्की दिएर बलात्कार गर्ने युवक पक्राउ


इटहरी, कात्तिक १७

ज्यान मार्ने धम्की दिएर युवतीलाई जंगलमा लगी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढी-५ घर भई हाल इटहरी–८ गैसार बस्ने २१ वर्षीय विजय राई छन्।

राईले इटहरीकी एक युवतीलाई कात्तिक १० गते बिहान तरहरा जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । भनेको नमाने ज्यान नै लिने र परिवारको सदस्यलाई समेत मार्ने धम्की दिएर ती युवकले मोटरसाइकलमा चढाएर जंगल लगी युवतीलाई करणी गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

तरहरा जंगलमा लगेर जबरजस्ती करणी गरेको र पीडितले लगाएको सुनको सिक्री समेत लुटेर फरार भएको जाहेरी आएपछि राईलाई पक्राउ गरिएको हो । घटनामा प्रयोग भएको को ३८ प ८५४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ। राईलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।