जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १४:२९

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त


काठमाडौं, कात्तिक १७

सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो । डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ।

तर, त्रिविमा भन्दा डा. कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव आएपछि उनलाई अध्यक्ष बनाइएको हो। शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो ।

दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो । डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने प्रस्ताव गएसँगै त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटाको सम्भावना बढेर गएको छ। डा. बास्कोटा यसअघि काउन्सिलका अध्यक्ष थिए ।

काउन्सिलमा रहँदा डा. बास्कोटाले धेरै सुधारका काम गरेका थिए। काउन्सिलको अध्यक्षमा डा. कोइरालाको नियुक्तिपछि काउन्सिलमा धेरै सुधार हुने अपेक्षा सरकारको छ। चिकित्सकको आचार संहिता, लाइसेन्स, सिपिडी, नक्कली डाक्टर लगायतका विषयमा सुधारका काम डा. कोइरालाले गर्न सक्ने भन्दै सरकारले उहाँलाई अध्यक्षमा नियुक्त गरिएको बुझिएको छ।

काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ। डा. बास्कोटाको कार्यकाल जेठमा सकिएपछि अध्यक्षको पद रिक्त्त थियो । अध्यक्ष, रजिष्ट्रारसहित काउन्सिलमा ७ जना सदस्यको पद खाली रहेको छ। यद्यपि आज उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन ।