जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १६:३०

सिन्धुपाल्चोकको सुकुटे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, ४४ जना घाइते


सिन्धुपाल्चोक, कात्तिक १७ । दोलखाबाट काठमाडौं जाँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा परी घटनास्थलमै, नदीले बगाउँदा र उपचारका लागि ल्याइएकामध्ये १३ जनाको शव फेला परेको हो ।

बस दुर्घटना लगत्तै पुग्नुभएकी नेकपाकी नेतृ तथा पूर्वमन्त्री देवी खडकाले जनताटाइम्सलाई घटनास्थलबाट दिनुभएको जानकारीअनुसार दुर्घटनामा परी ४४ जना घाइते भएका छन । घाइते ४४ जनामध्ये ४३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने एक जना महिलालाई ट्रमा सेन्टर रिफर गरिएको छ । मृतकको सनाखत हुन भने बाँकी छ।

आज दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट छुटेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए ।

पूर्वमन्त्री खडकाका अनुसार दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । आज दुर्घटना भएकै स्थलमा दश बर्षअघि यस्तै भयानक दुर्घटना भएको थियो । बस दुर्घटनाको जानकारी पाएलगत्तै पूर्वमन्त्री खडका, दोलखाका प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य पार्वत गुरुङसहितका दोलखाका नेताहरु घटनास्थल सुकुटे पुग्नुभएको थियो । उहाँहरुले दुर्घटनामा घाइतेको उद्धारदेखि उपचारको ब्यवस्थाका लागि समेत समन्वय गरिरहनुभएको छ ।