जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १९:३२

नेकपाले टुंग्यायो उपनिर्वाचनका उम्मेद्वार, कास्कीमा बिद्या भट्टराईसहित प्रदेशसभामा यी बने उम्मेद्वार


काठमाडौं, कात्तिक १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार बैठकले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका तात्कालिन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको ठाउँमा उहाँकी पत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी दाङ २ (ख) प्रदेशसभाको निर्वाचनको उम्मेदवार विमला ओलीलाई उम्मेद्वार बनाएको छ भने भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नेकपाले बाग्लुङ प्रदेशसभा सदस्य जनमोर्चाका उम्मेदवार समर्थन गर्ने निर्णय गरेको छ । बैठकले धरान उपमहानगर पालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले गाउँपालिका र वडा स्तरका उम्मेदवारको टुंगो लगाउने जिम्मा भने प्रदेश कमिटीलाई दिएको छ । प्रतिनिधिसभा एक, प्रदेशसभा ३ तथा स्थानीय तहअन्तर्गत नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक, ४३ वडाध्यक्ष गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।