जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १९:४६

सिन्धुपाल्चोकको सुकुटे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ४६ जना घाइते


सिन्धुपाल्चोक, कात्तिक १७ । दोलखाबाट काठमाडौं जाँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म मृतकमध्ये सात जनाको मात्र सनाखत भएको छ ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४, स्थित जलजलेकी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, भीमेश्वर नगरपालिका दोलखाकी २४ वर्षीया रन्जिता केसी, शैलुङ गाउपालिका ३ कि ५१ वर्षीया रत्नकुमारी रावत र दोलखा घर भएका तीन महिनाको शिशु सिसान तामाङको सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइते ५२ वर्षीय चेतकुमारी बस्नेत र ६ वर्षीय सलिना तामाङको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको छ । मृतक सलिना तामाङ शैलुङ गाउँपालिकाकी हुन् भने बस्नेतको ठेगाना खुल्न सकेको छैन । दुर्घटनाग्रस्त बसबाट उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यस्तै बसका चालक धनबहादुर तामाङको सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि धुलिखेल अस्पताल रिफर गरिएको छ ।

बोल्न नसक्ने अवस्थामा रहेकोले चालक तामाङलाई थप उपचारका लागि धुलिखेल रिफर गरिएको हो । घाइतेमध्ये अन्य छ जना गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । दोलखाको शैलुङ गाउँपालिकाको मागापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आज दिउसो चौतारा सांगाचोकगढी नगरपालिका ९, सुकुटेस्थित अरनिको राजमार्गबाट सुनकोशी नदीमा खसेर दुर्घटना भएको थियो । आज भएको दुर्घटना स्थलमै दश बर्ष अघि पनि भयानक दुर्घटना भएको थियो । प्रहरीले दुर्घटनाको कारण अझै खुल्न नसकेको बताएको छ । यद्यपी बसमा बढी यात्रु रहेको र तीब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

यसैबीच दोलखाका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, नेकपाकी दोलखा इञ्चार्ज देवी खडकासहितका नेकपाका नेताहरु घटनास्थलमै पुगेर दुर्घटनका घाइतेको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन खटिनुभएको छ ।