जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार ०८:५१

आलमविरुद्ध आज मुद्दा दर्ता हुदै, तत्कालिन प्रहरी प्रशासनले नै मान्छे मार्न सहयोग गरेको खुलासा


रौतहट, कात्तिक १८

जिल्ला सरकारी वकिलको कार्यालयले बम बनाउने क्रममा भएको विष्फोटका घाइतेलाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध आज मुद्दा दायर गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धानपछि कार्यालयले आज जिल्ला अदालत रौतहटमा मुद्दा दायर गर्न लागेको हो ।

कार्यालयले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्ने जानकारी दिएको छ । अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर गर्ने तयारी कार्यालयको छ । प्रहरीको अनुसन्धानमा आलमले तत्कालिन प्रहरी प्रशासनसँग मिलेर घाइतेलाई इटाभट्टीमा हालेको खुलेको छ । प्रहरीकै गाडीले स्कटिङ गरेर घाइतेलाई इटाभट्टामा लिएर गएको एक प्रहरीले बयानका क्रममा भनेका छन् ।

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ गरी तीन वटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन प्रहरीले शुक्रबार नै पेस गरिसकेको छ । आलम बाहेक अन्य दस जना भने फरार छन् । प्रहरीले इटाभट्टा संचालकलाई पनि मुद्दा हाल्नुपर्ने निष्कर्ष निकालृेको छ ।

यसअघि पाँच जनाबिरुद्ध किटानी जाहेरी परेकोमा अहिले थप ६ सहित ११ जनाबिरुद्ध मुद्दा चलाउन राय दिएको रौतहट प्रहरीले जनाएको छ । प्रतिवेदनमा आलमले आफ्ना भाइलगायतसँग मिलेर विस्फोटमा घाइते भएका मानिसहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेको दाबी गरिएको छ ।