जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार ११:२३

प्रदेश प्रमुख चयन गर्ने देउवाले भन्नुभयो : सरकारको निर्णयको खिलाफमा छौं


काभ्रे, कात्तिक १८

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने सरकारको निर्णयको खिलाफमा रहेको स्पष्ट पार्नुभएको छ । देउवाले नै कामचलाउ सरकारको प्रधानमन्त्री भएका बेला एकलौटी रुपमा प्रमुखहरुको नियुक्ति गर्नुभएको थियो ।

सिन्धुपाल्चोकको सुकुटेमा हिजो भएको बस दुर्घटनाका घाइतेलाई भेट्न धुलिखेल अस्पताल पुग्नु भएका सभापति देउवाले सरकारको निर्णयप्रति असन्तुष्टी जनाउनुभयो । उहाँले संक्षिप्त प्रतिक्रिया दिदै भन्नुभयो, ‘हामी सरकार र निर्णयको खिलाफमा छौं ।’ देउवा नेतृत्वको सरकारले नियुक्त गरेका ७ वटै प्रदेश प्रमुखलाई सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त गर्नुभएको थियो । देउवाले दुर्घटनामा गम्भीर घाइते भएर शल्यक्रिया पछि पोष्ट अपरेटिभ वार्डमा रहेका ३ जनालाई भेटी स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

देशभर भइरहेका दुर्घटनाप्रति उहाँले चासो र चिन्ता प्रकट गर्नुभयो । देउवाका साथमा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधुप्रसाद आचार्य, पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, पूर्व सांसद तिर्थ लामा लगायतका नेता कार्यकर्ता हुनुहुन्थ्यो ।