जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार ११:५१

सुरुङभित्र छिरेका ४ कामदारको अवस्था अझै अज्ञात


बझाङ, कात्तिक १८

बझाङको बुंगल नगरपालिका १ कालंगा जलविद्युत आयोजनाको सुरूङभित्र काम गर्न गएका चार जना मजदूरको उद्धार गर्न कठिनाई आईपरेको छ । अक्सिजनको अभावमा सुरुङभित्र जान नसकिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए । सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउँद, बझाङका शेरबहादुर धामी छन् । सुरुङबाट बाहिर निस्किएका भनिएकाहरु पनि अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ ।

सुरूङ तीन सय मिटर लामो छ। सुरूङको बीचसम्म मात्रै अक्सिजन पुर्‍याउने पाइप छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले दिएको जानकारीअनुसार अक्सिजन अभाव हुँदा मजदूरहरू सुरूङभित्र फसेको हुनसक्छन ।

उद्धारका लागि विज्ञ टोली काठमाडौंबाट मगाइएको छ । सुरूङभित्र फसेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको भए पनि हराइरहेकाहरूको अवस्था अहिलेसम्म जानकारीमा आइसकेको छैन । सुरुङको लम्बाइ १ किलोमिटर ४ सय मिटर छ ।