जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १३:३४

भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनमा नेकपाको उम्मेदवारमा ढकाल


भक्तपुर, कात्तिक १८

आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ । उक्त दलको भक्तपुर जिल्ला सचिव रहनुभएका उहाँलाई सचिवालय बैठकले उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । यसअघि जिल्ला कार्यसमितिले उम्मेदवार ढकालका साथै रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र महिलातर्फ नारायणी फुयाँलको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

उहाँ पूर्वमाओवादी नेता हुनुहुन्छ । प्रदेशसभा सदस्यमा यसअघिको निर्वाचनमा उम्मेदवार ढकाल तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । यसैगरी सोही पदका लागि नेपाली काङ्ग्रेसले पनि १० जनाको नाम सिफारिस गरेकामा आजसम्ममा उम्मेदवार चयन हुने सम्भावना रहेको बताइएको छ भने नेमकिपा र अन्य दलले अहिलेसम्म कसैको नाम पनि सार्वजनिक गरेका छैनन् ।