रामेछाप, ७ जेठ । उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा ४५ दिने ढाका बुनाइ तालिम सम्पन्न भएको छ ।
उमाकुण्ड गाउँपालिकाको आयोजनामा सञ्चालित तालिमबाट ७ जना महिला प्रशिक्षित भएका छन् । गाउँपालिकाले तालिमबाट प्रशिक्षित ७ जना महिलाहरूलाई निःशुल्क ढाका बुन्ने तान समेत प्रदान गरेको छ ।
तालिम बुधवार सम्पन्न भएकाे हाे । तालिम समापन कार्यक्रममा बोल्दै उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले तालिम सिकेका महिलाहरुले यसबाट लाभ लिने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाको उद्योग विकास शाखा प्रमुख रणबहादुर कार्कीले पालिकामा नै उद्योग सञ्चालन भएमा बाहिरको बस्तु खरिद गर्नु नपर्ने बताउनुभयो । यही कुरालाई ध्यानमा राखेर पालिकामा उद्योग विकासका लागि सीप विकास कार्यक्रम अन्तरगत तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
तालीममा सहभागी बिपना सुनुवारले यो तालीमबाट सिकेको सीपलाई खेर जान नदिने र उद्योग दर्ता गरेर समूहमा काम गर्ने बताउनुभयो । यसका लागि गाउँपालिकाले सहजीकरण गर्नु पर्ने बताउनुभयो ।
प्रशिक्षक निर्मला मगरले तालिममा सिकेका कुराहरूलाई आफ्नै ठाउँमा उपयोग गर्न आग्रह गर्नुभयो । तालिमको उमाकुण्ड गाउँपालिका–६ का वडा अध्यक्ष भरत राज खड्काको अध्यक्षतामा समापन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्