जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १६:२९

आलमबिरुद्ध मुद्दा चलाउने निर्णय, फेला पर्यो बम बिष्फोट र हत्यामा संलग्नताको प्रमाण


रौतहट, कात्तिक १८ । सरकारी वकिल कार्यालय रौतहटले कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र पेश गरेको छ । पहिलो संबिधानसभा निर्वाचनको अघिल्लो दिन अर्थात १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको बिषयमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा आलमबिरुद्ध जन्मकैदको माग गर्दै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा पेश गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटका प्रमुख खडिन्द्र कटुवालका अनुसार पूर्वमन्त्री आलमसहित १० जनालाई जन्मकैदको माग गर्दै अदालतमा जाने निर्णय भएको छ । सरकारी वकिलको कार्यालयले एक जनालाई भने मतियारको रुपमा मुद्दा मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले लामो अनुसन्धानपछि २०६४ चैत २७ गते रौतहटको राजपुर ४ मा बम विस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको किटानीसहितको प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाएको थियो ।

रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम विष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहम्मदसमेत दुई जना घाइते भएको अनुसन्धानबाट भएको पुष्टि भएको प्रतिवेदनमा जनाइएको छ । आलमसहितका १० जनाबिरुद्ध दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान, अहम्मदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार एवं भण्डारण गरी विष्फोट गराएको कसुरमा मुद्दा चलाउनु पर्ने निश्कर्ष प्रहरी प्रतिवेदनमा रहेको छ । आलमलाई घटना भएका बेला लागू हुने कानुनअनुसार सर्वस्वसहित जन्मकैद हुनुपर्ने प्रहरी प्रतिवेदनमा राय दिइएको छ । १२ वर्षअघि पनि प्रहरीले आलमविरूद्ध ओसी अख्तर र पिन्टुको हत्या गरेको भन्दै सरकारी वकिलमा प्रतिवेदन लगेको थियो ।

१२ वर्षअघिको उक्त प्रहरी प्रतिवेदनको घटनास्थल मुचुल्कामा बम विष्फोट नभएको उल्लेख थियो। घटनाको धेरै दिनपछि मात्र अनुसन्धान थालिएको थियो । तर त्यतिखेर बम विष्फोट भइ अख्तर र पिन्टु घाइते भएको देख्ने प्रत्यक्षदर्शी सराजुल मियाँले कागज गरेका थिए । अख्तरका आमा रूक्साना खातुन र पिन्टुका बुवा श्रीनारायण सिंहले दिएको जाहेरी र मियाँले गरेको कागजका आधारमा त्यतिबेलै प्रहरीले आलमलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । सरकारी वकिल कार्यालय रौतहटले भने मुद्दा नचल्ने निर्णय गरेको थियो । जसलाई तत्कालीन महान्यायाधीवक्ताले सदर गरेका थिए । त्यतिखेर प्रहरीले बुझाएको प्रतिवेदनलाई पनि अहिलेको अनुसन्धान प्रतिवेदनमा समावेश गरिएको छ ।

प्रहरी प्रतिवेदन अनुसार अहिले सबैभन्दा ठूलो प्रमाण वम विष्फोटमा परी घाइते भएका सफी अहम्मद हुन । उनले आफू बम बनाउँदा बनाउँदै घाइते भएको र ज्यान बचाउन भागेको बयान प्रहरीलाई दिएका छन । बम पड्काएर मानिस तर्साउने र त्यही मेसोमा बुथ क्याप्चर गर्ने योजना बनाएर आलमले आफ्नो घरनजिकैको कटेरोमा केही नेपाली र भारतीयलाई बम बनाउन लगाएका विवरण आएका छन । बम बनाएकै ठाउँमा विष्फोट हुँदा दुई जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन । विष्फोटमा मारिएका र घाइते दुवैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी पठाएका थिए । त्यसपछि प्रहरीले यसमा अनुसन्धान गरेको थियो । घटनास्थलमा ओसीका लुगा र चप्पल थिए भने इँटाभट्टाको माटो परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो । तर, प्रयोगशालामा माटो परीक्षण गर्ने प्रविधि नभएको भन्दै यसै फिर्ता पठाइयो । सरकारी वकिलले मुद्दा चलाउन अस्वीकार गरेपछि सिंह र खातुन दुवैले सर्वोच्च अदालतमा रिट दिएका थिए । रिट परेको दुई वर्षपछि न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको इजलासले सरकारी वकिलको निर्णय खारेज गर्दै यसमा थप अनुसन्धान गरेर अदालतमा मुद्दा लैजान आदेश गरेको थियो । तर सर्वोच्चमा रिट विचाराधीन रहेकै बेला खातुनको पनि गोली हानी हत्या गरिएको थियो ।

सर्वाेच्चको आदेश सात वर्षसम्म उक्त आदेश कार्यान्वयन नभएपछि अधिवक्ता पुष्प पौडेलले अदालतको अवहेलना निवेदन दिएका थिए । सोही निवेदनमा सुनुवाइ गर्दै गएको असारमा फेरि सर्वोच्चले पहिलेको आदेश कार्यान्वयनको अवस्थाबारे प्रत्येक महिना प्रतिवेदन बुझाउन महान्यायाधिवक्तालाई निर्देशन दिएको थियो । सर्वाेच्चका सोही आदेशअनुसार १२ बर्ष अघिको घटनामा आलमलाई पक्राउ गरी मुद्दा चलाइएको हो ।